भदौ १३, काठमाडौँ | तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उहाँको ९ वर्षीय छोरा शङ्कर गुरुङ घाइते हुनुभएको हो ।

सव डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोइराला आइतबार राति साढे १२ बजे घरको पिढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताउनुभयो ।

चितवाको आक्रमणबाट घाइते हुनुभएको आमा दिलमाया र छोरा शङ्करको दमौली अस्पतालमा उपचार भइरहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

घाइते आमाछोरा स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिनुभयो ।

हाल तनहुँमा नरभक्षी चितुवाको निरन्तर आक्रमण गरिहेको छ ।

बन्दीपुर गाउँपालिका–१ मा दुई महिनाको अवधिमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् भने एक बालकको मृत्यु भइसकेको छ ।

बुधबार साँझ मात्रै चितुवाले बन्दीपुर गाउँपालिका–१ को उपल्लो फाँटमा सुवाश परियारको ३ वर्षीय छोरा शुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । बालकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, गत जेठ १० गते चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षीय छोरा सुप्रिप रिलामी मगर ज्यान गएको थियो ।

यसैगरी, दुई महिना अघि वडा नम्बर १ कै बाघदलेमा बस्ने ३४ वर्षीय हिमलाल गरन्जा मगर घरको पिढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

चितुवाको आक्रमणबाट आमाछोरा घाइते