असोज १४, काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।

महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले बताए ।

झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ । पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।

आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टे«डिङ, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिए ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ ।

संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलको पनि अनुगमन गरिएको छ ।

महानगरको टोलफ्री नम्बरमा फोन गरेर उजुरी दिन सकिने

काठमाडौं महानगरपालिकाले १६६००१०५५११ नम्बरको टोल फ्रि नम्बर पनि सञ्चालनमा ल्याएको छ ।

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजकसमेत रहेकी उपमेयरसुनिता डंगोलले आफू ठगिएको शंका लागे महानगरलाई निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गरेर उजुरी दिन आग्रह गरिन् ।

धमाधम बजार अनुगमनमा काठमाडौं महानगर