कात्तिक १७, काठमाडौँ | धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसगुन हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ ।

यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ । महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ ।

क) आँखामा समस्या

आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ । लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।

ख) तनाव

कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ । तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ । तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ ।

ग) थकान

अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ । यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ ।

घ) सुख्खापन

आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ ।

कसरी रोक्ने त ?

टन्न पानी पिउनुहोस् ।

पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् ।

अनि आँखाको मसाज गर्नुहोस् ।

आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् ।

एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।

आँखा फर्फराउनु के साँच्चिकै शुभ-अशुभको संकेत हो त ? यस्तो छ वास्तविकता