मङ्सिर २४, त्रिवेणी | यही मङ्सिर १५ गते साँझ दलदलेबाट डेढगाउँका लागि छुटेको जिप धौबादी नजिक दुर्घटनामा पर्यो । दुर्घटनामा परेर चार जनाले ज्यान गुमाए । दशजना घाइते भए । गत कात्तिक १५ गते बुलिङटारमा भएको सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि यस्ता दुर्घटना हुने गरेका छन् । जसबाट जनधनको क्षति हुने गरेको छ । पहाडी क्षेत्र जाने जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

एकातर्फ जीर्ण सडक त्यसमाथि सीमित सवारी साधन सञ्चालन हुँदा हुने ओभर लोडका कारण यात्रा जोखिम पूर्ण हुने गरेको छ । “बाटो सारै खराब छ, त्यस माथि सीमित सवारी चल्दा जिपमा यात्रुको चाँप धेरै हुन्छ, डर मानी मानी यात्रा गर्नुपर्ने पहाडका बासिन्दाको बाध्यता बनेको छ”, बौदीकालीका स्थानीय गेसबहादुर रानाले भन्नुभयो ।

जिल्लाको पहाडी क्षेत्र बुलीङ्गटार, पोखरी, रुचाङ्ग, नरम, डेढगाँउ, रनतपुर, डाँडाझेरी, हुप्सेकोट, कोटथरलगायतका बासिन्दा ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । राजमार्ग क्षेत्र गैँडाकोटदेखि दुम्किबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण छ । त्यस माथि सवारीमा यात्रुको चाप धेरै हुँदा यात्रा कष्टकर मात्रै नभई जोखिमपूर्ण हुने गरको बुलिङटारका स्थानीय पूर्ण थापाले गुनासो गर्नुभयो ।

झण्डै डेढ दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी हुने र जीर्ण सडकका कारण यात्रुले कष्टपूर्णरुपमा ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । “गाडी कम चल्छन्, मान्छेलाई जसरी पनि पुग्नुपर्ने अवस्था हुन्छ, त्यसमाथि बाटो निक्कै खराब छ, तर यो पहाडी क्षेत्रका बासिन्दाको बाध्यता हो”, थापाले भन्नुभयो ।

प्रायः नवलपुरदेखि उत्तर पहाडी क्षेत्रतर्फ छुट्ने सवारीको सिटमा जति यात्रु हुन्छन्, सोही अनुपातमा झुण्डिएर, छतमा बसेर यात्रुले यात्रा गर्न बाध्य छन् । जीर्ण सडक भएकै कारण धेरै सवारी यो बाटोमा सञ्चालन नभएको यातायात व्यवसायीको भनाइ छ । दलदलेदेखि उत्तरतर्फ पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका जोड्ने मुख्य सडक ‘ट्रयाक’ खोलेको दुई दशक कट्दासमेत कालोपत्रे हुन सकेको छैन । करिब ४५ किलोमिटरको सडक दुई दशकसम्म स्तरोन्नति नहुनु चिन्ताको विषय बनेको डेढगाउँका स्थानीय श्यामकुमारी विकले बताउनुभयो । “सडकको स्तरोन्नति नहुँदा एकातर्फ यात्रा जोखिमपूर्ण छ, अर्कातर्फ विकासले नछोएको जस्तो भएको छ”, विकले भन्नुभयो, “कहिले यो बाटो सहज होला खै ।”

पहाडी क्षेत्रको मुख्य मार्गको रुपमा हेरिएको कावासोती–बालुवाडाँडा–कोखे सडकखण्ड निर्माणको काम केही वर्ष अघि थालिएपनि निर्माणले गति लिन सकेको छैन । पहाडी क्षेत्रको मुख्य मार्गको रुपमा रहेको यस सडकखण्डको निर्माणमा ढिलाइ हुँदा बाटोको समस्या जस्ताको त्यस्तै रहेको छ । निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी कम्पनीले समयमा काम सम्पन्न नगर्दा पटक पटक ठेक्काको म्याद थप्ने काम मात्रै भएको छ । जसले गर्दा बाटोको अवस्था जीर्ण रहेको छ ।

पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि हालै मात्र जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित पाँच स्थानमा चेकपोष्ट स्थापना गर्ने निर्णय गरिएको छ । पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।

December 10, 2022
काठमाडौँ - KTM, समाज
सीमित सवारी र ‘ओभर लोड’ ले यात्रा जोखिमपूर्ण
By साझासवाल
7 मिनेट पढाइ