मङ्सिर २५, मलंगवा | २० वर्ष पूरा भएको र १२ कक्षा उर्तीण गरी विवाह गर्ने छोरीलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको छ।

गाउँपालिका नयाँ नेतृत्व आएपछि बसेको पहिलो कार्यापालिकाको बैठकले २० वर्ष पूरा गरेको र १२ कक्षा उर्तीण गरी विवाह गर्ने हरेक छोरीलाई पालिकाले ५० हजार प्रोत्साहन स्वरूप प्रदान गरिने निर्णय गरेको छ।

सोही निर्णय अनुसार पहिलो पल्ट चन्द्रनगर गाउँपालिका-२ दनुवारी टोलकी २२ वर्षीय रेणुकुमारी सिंहको विवाहमा पालिका अध्यक्ष राजकुमार महतोले ५० हजार सहयोग गर्दै कार्याक्रमको सुरुवात गरेको छ।

अध्यक्ष महतो विवाह मण्डपमै पुगेर दुल्हीलाई ५० हजारको चेक हस्तान्तरण गरेका छन्।

बालविवाह न्यूनीकरण गर्न र छोरीलाई उच्च शिक्षा सम्म पहुँच पुर्याउनमा सहयोग पुग्ने भन्दै कार्यपालिकाको पहिलो बैठकबाट यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताएका छन्।

चन्द्रनगर गाउँपालिकामा अधिकांश निम्न वर्गीय परिवारका मानिसहरूमा बालविवाहको संख्या बढ्दो छ। छोरीचेलीहरू उच्च शिक्षाको पढाइबाट बञ्चित छन्।

बालविवाह न्यूनीकरण र छोरीको पनि शिक्षामा पहुँच पुगोस् भन्ने उद्देश्य यस्तो कार्यक्रम पालिकाले ल्याएको अध्यक्ष महतोले बताए।

केही हद सम्म बालविवाह कम हुन्छ। अभिभावकहरूले छोरीहरूलाई विद्यालय पढाउँछ भन्ने विश्वास लिएको महतोको कथन छ।

आफ्नो पालिकामा करिब ६५ प्रतिशत बालविवाह हुने गरेको अध्यक्षले बताए। उच्च शिक्षा लिएको छोरीहरूको संख्या एकदम कम छ। अभिभावकहरू पनि छोरीलाई शिक्षा दिनु पर्छ भन्नेमा सचेत छैन्।

यो कार्यक्रमले केही सुधार हुन्छ। स्नातक गर्ने छोरीहरूलाई पनि गाउँपालिकाले ११ हजार सहयोग गर्ने निर्णय गरिएको महतोले बताए।

गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालयबाट १२ कक्षा उर्तीण गरेकी दुल्ही २२ वर्षीया सिंहले गाउँपालिकाले छोरीहरूका लागि राम्रो कार्यक्रम ल्याएको बताएकी छिन्।

चेक ग्रहण गर्दै दुल्ही सिंहले गाउँका हरेक छोरीहरू अब पढाइतर्फ ध्यान दिने बताएकी छिन्। २० वर्षपछि विवाह गर्दा स्वास्थ्य अवस्था पनि राम्रो हुने, शिक्षा आर्जन पनि गर्न सकिने र पालिकाको सहयोग पनि पाउने भएपछि छोरीहरू खुशी हुने सिंहले बताइन्।

पालिकाले विवाह मण्डपमै आएर छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार सहयोग गरेको देख्दा खुशी लागेको दुल्हीका बुबा हरदेव कुमर दनुवारले बताएका छन्।

पढाइ लेखाई गराएर छोरीको विवाह गर्दा राम्रो हुन्छ। आफू समान्य लेखपढ गरेपनि छोरीलाई पढाए त्यसमा खुशी छु। अझ पालिकाले सहयोग गर्दा झन खुशी लागेको दनुवारले बताए।

यस्ता कार्यक्रमले भोलिका दिनमा छोरीहरूको मनोबल बढ्छ। अभिभावकहरूमा पनि छोरीलाई पढाउनु पर्छ भन्ने ठूलो सन्देश गएको छ।

गत शुक्रबार रेणुको विवाह इश्वरपुरका २९ वर्षीय राजीव कुमार सिंहसँग भएको थियो।

December 11, 2022
काठमाडौँ - KTM, समाज
२० वर्ष पूरा भएका र १२ पास गरेका छोरीलाई बिहेमा ५० हजार सहयोग
By साझासवाल
6 मिनेट पढाइ