माघ २०, काठमाडौँ | कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उहाँ शुःल्क लिनुहुन्छ ।

पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले रू ४० र साइकल सवारले रू पाँच बुझाउनुहुन्छ । रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो ।

नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राख्नुभएको छ । पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उहाँले घर खर्च चलाउनुभएको छ । पुल प्रयोग गर्नेहरुबाट उहाँले दैनिक रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म रकम उठाउनुहुन्छ ।  श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उहाँले नदीमा अस्थायी पुल राख्नुएको हो ।

“रोजगारीको छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हरेक बर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।” उहाँले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्नुहुन्छ । नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायी रुपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुङ्गो छैन ।

स्थानीय बोटसिंह राना भन्नुहुन्छ, “कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौं ।”

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् ।

नदीमा काठको अस्थायी पुल राखेर शुःल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताउनुभयो । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उहाँले सुनाउनुभयो ।

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । “अस्थायी भएपनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ”, स्थानीय प्रकाश खुनाले भन्नुभयो, “थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ ।”

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता