माघ २२, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ ।

मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिृकत डा रिता गुरुङले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार मन्त्रालयले इन्ट्रा अकुलर लेन्स उतपादन विभाग स्थापनाका लागि प्रतिष्ठानका नाममा रु दुई करोड पक्की भवन निर्माण अनुदान निकासा गर्नेछ । सो रकम पक्की भवन निर्माणका कार्यबाहेक अन्यमा खर्च गर्न पाइने छैन । भवन निर्माण गर्दा गुणस्तरीयता कायम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रतिष्ठानले कानुनबमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी लेन्स उत्पादन कम्पनी/उद्योग दर्ता प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ ।

चालु आवका लागि निकासा भएको अनुदान रकम आगामी जेठसम्ममा खर्च गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चालु आवमा खर्च हुन नसकेको बजेट फिर्ता गर्नुपर्नेछ । सम्पादन भएको कार्यको भौतिक तथा वित्तीय प्रगतिको त्रैमासिक प्रगति प्रतिवेदन अनिवार्यरुपमा प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ ।

विभाग स्थानान्तरणका लागि आवश्यक खरिद गर्ने, निर्माण गर्ने, लेखापाल गर्ने, लेखापरीक्षण गराउने, प्रतिवेदन गर्नेलगायत सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानको हुनेछ । लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्रतिष्ठानले मन्त्रालयमा पठाउनु पर्नेछ । समझदारीपत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुवै पक्षका एक÷एक जना सम्पर्क अधिकृत तोक्ने सहमति भएको छ ।

February 5, 2023
काठमाडौँ - KTM, समाज
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
By साझासवाल
4 मिनेट पढाइ