Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार स्थिर र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कमिसनखोरी र भ्रष्टाचारको आरोप लगाउनेहरूलाई चुनौती दिदै भने, “अहिलेको सरकार कमाउन आएको होइन। आफ्ना मान्छे भर्ती गर्न आएको होइन। एमालेतिर औँला ठड्याएर बोल्नेहरू तथ्य र प्रमाणका आधारमा बहस गर्न तयार हुनुहुन्छ?”

प्रधानमन्त्री ओलीले आफूविरुद्ध फैलाइएका अफवाहलाई खण्डन गर्दै कम्बोडियामा ३२ हजार करोड लगानी गरेको दाबीलाई “फाल्तु भ्रम” भनेका छन्।  ‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न। भन्दिए भो। त्योमात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल। भन्देउ न भन्दिनका लागि। यस्तो फाल्तु कुरा गरेर हुँदैन। कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन्। त्यसका लागि हामी बहस गर्न तयार छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले देशभित्रै सात पुस्ता पुग्ने सम्पत्ति थुपार्नेहरूलाई इंगित गर्दै भ्रष्टाचारका मुद्दामा बहस गर्न तयार रहेको बताए। “गोरु बेचेको साइनोसम्म जोडेर अर्बौंको मालिक बन्नेहरूको बारेमा हामी खुला बहसमा जान्छौं,” उनले चुनौती दिए।

कार्यक्रममा ओलीले कांग्रेस-एमालेको सरकार स्थिर रहेको र कुनै पनि प्रकारको बाहिरी दबाबले सरकारको समीकरण नबिग्रने दाबी गरे। उनले भने, “एमालेलाई कसैले हल्लाउन सक्दैन। अहिलेको समीकरण र सरकारलाई कसैले भत्काउन सक्दैन।”