जेठ २४, काठमाडौँ | बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी रेहकी छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनले २०७६ फागुन ६ गते उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना सुनाएको थियो ।

लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँवस्तीबाट पक्राउ गरेको हो ।

उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो ।

उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ