साउन १३, झापा | झापाको मेचीनगरस्थित पूर्वी नाका काँकरभिट्टा नाकाबाट न्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाट अवैध रूपमा नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले शुक्रबार राति ७ बजे मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट नियन्त्रणमा लिएको हो।

ना ६ ख ४९०२ नम्बरको उक्त कन्टेनरमा एक करोड भन्दा बढी रुपैयाँको सामान रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

कन्टेनर भित्र बाजा बजाउने झ्याम्टा, हुक्का तान्ने सिसा, साबुन लगायत फेला परेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले जानकारी दिए।

चेकजाँचका क्रममा सो समानहरूको भन्सार तिरेको रसिद नभएको र चालक फरार रहेकाले कन्टेनर नियन्त्रणमा लिइएको उनले बताए।

नियन्त्रणमा लिइएका कन्टेनरमा २० लाखको अफजल फ्लेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झ्याम्टा, १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने साबुन लगायत अन्य सामान पनि बरामद भएको छ।

१ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मूल्य राखेर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको प्रहरीले बताए।