जेठ १९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् ।

पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका हुन् ।

‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।’

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना समेत नरहेको बताए । ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन,’ उनले भने ।

आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरु भष्म हुने बताए । ‘धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका छन् । उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु,’ उनले गठबन्धन दलहरुलाई भने ।

प्रधानमन्त्रीको कार्ड फाल्न थालिएको छ, प्रलोभनमा पर्दिनँ : माधव नेपाल
Leave a Comment