असार ९, काठमाडौँ | असार ७ गते लामिछानेले आफ्नै संयोजकत्वमा २१ सदस्यीय पदाधिकारी रहेको विधानसहित राष्ट्रिय स्वतन्त्र पार्टी नेपाललाई दलका रूपमा दर्ता गरी पाऊँ भन्दै निवेदन दर्ता गराएका छन् ।

पार्टीको चुनाव चिह्न 'घण्ट' पाउनुपर्ने माग गरिए पनि उक्त चिह्न नपाउने पक्कापक्की भएको छ । निर्वाचन आयोगले 'घण्ट' चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण लामिछानेले नपाउने भएका हुन् ।

यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले 'घण्ट' छाप पाएको थियो । उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ ।

निर्वाचन आयोगको अभिलेखअनुसार रामकुमार महतो अध्यक्ष रहेको तथा पञ्जा छाप चुनाव चिह्न भएको नेपाल सद्भावना पार्टीमा राष्ट्रवादी पार्टी २०७३ मंसिर ३० गते गाभिएको थियो ।

उक्त दल गाभिएको १ वर्ष पूरा नभएका कारण रवि लामिछानेले दर्ता गराउने दलले 'घण्ट' चिह्न नपाउने लगभग निश्चित भएको निर्वाचन आयोगका एक कर्मचारीले बताए ।

राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा ७ मा भएको प्रावधानअनुसार लामिछानेले घण्ट चिह्न नपाउने भएका हुन् ।

ऐनमा भनिएको छ–

दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन ।

ऐनको उक्त प्रावधानका कारण नै लामिछानेले माग गरेको चुनाव चिह्न 'घण्ट' नपाउने निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी शाखाका ती कर्मचारीले बताए ।

मागेको नाम पाउनेमा पनि संशय

लामिछानेले दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएको 'राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल' नामक दल दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा दुई दिनभित्र चार थान उजुरी दर्ता भइसकेको छ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उठ्न चाहने उम्मेदवारलाई अन्याय हुने भन्दै लामिछानेले माग गरेको नाम दर्ता नगरिदिन मागसहित आयोगमा दिनहुँ उजुरी परिरहेको छ।

असार ८ गते डम्बर साहुले उजुरी दर्ता गराएपछि मनोज पण्डित, राजकुमार बजगाईं, पुष्कर शाहसहितका केही युवाको संयुक्त हस्ताक्षरसहित अर्को उजुरी परेको छ ।

त्यसैगरी असार ९ गते रोशन बर्माले पनि उजुरी दिएका छन् । 'स्वतन्त्र' शब्दको आफ्नै महत्त्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थिति निर्माण हुने उजुरीमा उल्लेख गरिएको छ ।

साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न हुने गरी 'स्वतन्त्र' शब्दको अर्थ नै अपव्याख्या हुने अवस्था भएकाले दलको नाम स्वतन्त्र रहन नदिन उजुरीमा माग गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नाम र निर्वाचन चिह्नसहितका विषयमा निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय गर्ने बताउँछन् ।

'रवि लामिछानेले दल दर्ताका लागि दिनुभएको निवेदन अहिले दर्ता मात्र भएको छ,' पौडेलले भने, 'नामका विषयमा आइरहेका उजुरी तथा निर्वाचन चिह्न समेतका विषयमा आयोगले अहिले अध्ययन गरिरहेको छ । निवेदन दर्ता भएको ४५ दिनभित्र आयोगले ती सबै विषयमा निर्णय गर्नेछ ।'

लौरो मागेको अर्को दल दर्ताको प्रक्रियामा

निर्वाचन आयोगमा लौरो चुनाव चिह्न माग गर्दै अर्को दल पनि दर्ताको प्रक्रियामा रहेको पाइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनन्तराज घिमिरे राष्ट्रिय अध्यक्ष रहने गरी नेपाली पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको हो ।

दाङको घोराही निवासी घिमिरेले २१ सदस्यीय पदाधिकारी रहेको भन्दै 'नेपाली दल' दर्ताका लागि निवेदन दर्ता गराएको भए पनि हालसम्म उनको दल आधिकारिक रूपमा दर्ता भने भएको छैन ।

आवेदन दिएको ४५ दिनभित्रको समय बाँकी रहेको र केही कागजात पनि नपुगेकाले दल दर्ताको प्रमाण पत्र नदिइएको उनले बताए ।

दल दर्ताका लागि निवेदन दिएका घिमिरेले स्वतन्त्रको ब्रान्ड बनेको लौरो चिह्न संरक्षणका लागि मात्र आफूले निवेदन दिएको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तथा स्वतन्त्रबाट निर्वाचित अन्य जनप्रतिनिधिको समेत साथ आफूलाई रहेको उनको जिकिर छ ।

'देशभरि नै स्वतन्त्र अभियानकर्ताहरूको ब्रान्ड बनेको 'लौरो' चिह्नलाई रिजर्भ गर्नका लागि मात्र नेपाली पार्टीको नाम प्रस्ताव गरी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हौँ,' घिमिरेले लोकान्तरसँग भने, 'भोलि नाम परिवर्तन गर्न पनि सक्छौं । तर चुनाव चिह्न 'लौरो'लाई हामीले रिजर्भ गरेका हौं।'

दल दर्ताका लागि निवेदन दिन जानुअघि बालेनसँग पनि सल्लाह गरेको उनले बताए । रवि लामिछानेले हतार गरेर दल दर्ता गरेको भन्दै उनले लामिछानेसँग पनि छलफल भइरहेको बताए ।

रवि लामिछानेले ‘घण्टी’ चिह्न नपाउने, ‘लौरो’ मागेको अर्को दल पनि दर्ताको प्रक्रियामा
Leave a Comment