पुस १४, काठमाडौँ | प्रचण्डलाई अप्रत्याशितरूपमा प्रधानमन्त्री बनाएर नेकपा माओवादी केन्द्रलाई आफ्नो पक्षमा पारेको नेकपा एमालेले चारवटा प्रदेश सरकार रोजेर लिने भएको छ । तर, शीर्ष तहमा औपचारिक रूपमा कुन प्रदेश कसले पाउने भन्ने टुंगो भने लागिसकेको छैन ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले लगभग एमालेले लिने प्रदेश प्रष्टै रहेको भन्दै स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएका ठाउँमा माओवादीको दाबी नरहने बताएका छन् । उनले वागमती र लुम्बिनीमध्ये एमाले तथा माओवादीले एक-एकवटा बाँड्ने बताए ।

एमालेका तीनजना स्थायी कमिटी सदस्य प्रदेशमा चुनाव लडेका थिए । तीमध्ये हिक्मत कार्की प्रदेश १, खगराज अधिकारी गण्डकी र यामलाल कँडेल कर्णालीमा संसदीय दलको नेता चयन भइसकेका छन् । यी नेता मुख्यमन्त्री बन्ने तय भइसकेको र यसमा शीर्ष तहमै टुंगो लागिसकेको छ ।

एमालेले यी तीन प्रदेशबाहेक वागमती वा लुम्बिनीको नेतृत्व पाउनेछ । यसपटक उत्कृष्ट नतिजा दिने प्रदेशमध्ये वागमतीभन्दा लुम्बिनी रहेकाले एमालेको स्थानीय नेतृत्वले लुम्बिनीको दावी गरेको छ । तर संघीय राजधानी समेत रहेको प्रदेश भएकाले एमालेको दावी वागमतीमा पनि यथावत छ ।

वागमति संसदीय दलमा चितवनका जगन्नाथ थपलिया सर्वसम्मत चयन भइसकेका छन् । लुम्बिनीमा एमालेका सिनियर नेतामध्ये रुपन्देहीका लीला गिरी नै मुख्यमन्त्रीका दाबेदार हुन् । वागमतिमा माओवादीबाट शालिकराम जमरकट्टेल, सरल सहयात्री र युवराज दुलाल दाबेदार छन् ।

लुम्बिनीमा प्रचण्डको प्रमुख स्वकीय सचिव रहिसकेका नेता जोखबहादुर महरा दाबेदार छन् । ओली र प्रचण्डकै तहमा छलफलपछि वागमति र लुम्बिनीको टुंगो लाग्ने नेताहरुले बताएका छन् । यसबाहेक माओवादीले सुदूरपश्चिमको पनि नेतृत्व पाउनेछ । मधेस प्रदेशमा भने पेचिलो अवस्था छ ।

प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । तर, यहाँ तीनभन्दा बढी दल मिलेरमात्र सरकार बन्ने अवस्था छ । जसपा र जनमत पार्टीको आधार क्षेत्र भएकलो दुवैले मुख्यमन्त्री दाबी गरेका छन् । सत्ता गठबन्धनमा यसबारे सहमति गरेर आलोपालो हुनसक्ने सम्भावना छ । यद्यपी ठूलो दल भएको र मधेसमा एमालेलाई पहिलो बनाएका कारण आफूहरूले नेतृत्व पाउनुपर्ने एमाले नेता तथा प्रदेश सभा सदस्य सरोज यादवले बताए ।

एमालेले मुख्यमन्त्री लिएका प्रदेशमा गठबन्धनका अन्य दलले सभामुख पाउनेछन् । गठबन्धनका अन्य दलले मुख्यमन्त्री पाएका ठाउँमा एमालेले सभामुख पाउनेगरी मिलाइएको नेताहरूले बताएका छन् ।

एमालेका तीन मुख्यमन्त्री ‘फिक्स’ : वागमती र लुम्बिनीमध्ये एउटा टुंगिन बाँकी
Leave a Comment