साउन १, काठमाण्डाै । सरकारले खुला सिमानाका कारण राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरेबमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो ।

आज सोमवार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाउनुभएको थियो । त्याे विवरणमा खुला सिमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार, लागुऔषध ओसारपसार र सीमा पारिबाट आपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवम् अन्य आपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ ।

त्यस्तै सीमापारि अपराध गरेर सीमावारि आई लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका विन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ । खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिककाे अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ ।

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ । नियमितरूपमा सीमावर्ती समकक्षीहरूसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रणलगायतका विषयमा समन्वय गरिएको उल्लेख छ ।

त्यस्तै सीमा स्तम्भहरूको नियमितरूपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरूको मर्मत गरिएको सरकारले विवरणमा बताइएको छ । सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार दुई सय १२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र अहिलेसम्म भारततर्फ दुई सय ४२ र चीनतर्फ आठ गरी दुई सय ५० ठाउँमा बीओपी स्थापना भई सञ्चालनमा रहेको सरकारले बताएकाे छ ।

सरकारले भन्याे– ‘खुला सिमानाका कारण राष्ट्रिय सुरक्षामा चुनौती’
Leave a Comment