माघ १६, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । तर पनि आज बंगलादेशविरुद्ध खेल्ने सुपर सिक्सको पहिलो खेल नेपालका लागि कम महत्वको हुने छैन ।

मंगलबार भएको सुपर सिक्सका खेलमा भारत र पाकिस्तान विजयी भएसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । जितसँगै भारत र पाकिस्तानको ६ अंक भएको छ । २ खेल खेल्न बाँकी नेपाल अंकविहीन छ । नेपालले दुवै खेलमा जित निकाले पनि ४ अंकमात्रै हुन्छ ।

उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । तसर्थ नेपालको सेमिफाइनल पुग्ने सम्भावना दुई खेल अगावै सकिएको हो । नेपालले सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ ।

सुपर सिक्सको पहिलो दिनको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले टेस्ट राष्ट्रसँग क्रिकेटमा भिड्ने अवसर दुर्लभ नै प्राप्त गर्छ । युवा समूहमा पनि विश्वकप वा एसिया कप नै कुर्नुपर्छ । त्यसैले आजको म्याच पनि नेपालका निम्ति एउटा अवसर हो, आफूलाई प्रमाणित गर्ने । समूह चरणको अन्तिम खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएर उच्च मनोबलमा रहेको नेपाल बंगलादेशसित पनि जितको लक्ष्यसहित भिड्नेछ ।

नेपालले यसअघि यू १९ विश्वकपमा बंगलादेशसित दुईपटक भिड्दा नतिजा बाँडेको छ । सन् २००२ मा नेपालले बंगलादेशलाई हराएको थियो भने सन् २०१६ मा बंगलादेशबाट पराजित भएको थियो । बंगलादेशको पनि सेमिफाइनल यात्रा निकै कठिन छ । उसले सेमिफाइनल सम्भावना जीवित राख्न नेपाललाई विशाल अन्तरालमा हराउनुपर्ने हुन्छ । त्यसैले उसले आक्रामक क्रिकेट खेल्ने छ । जसले नेपालका लागि अवसर सिर्जना गर्न सक्छ ।

बंगलादेश समूह चरणमा भारतसित ८४ रनले पराजित भएको थियो भने आयरल्यान्डलाई ६ विकेटले र अमेरिकालाई १२१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले सुपर सिक्सका दुवै म्याचमा ठूलो जित हासिल गर्नुपर्ने हुन्छ ।

सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनलबाट बाहिरियो नेपाल, आज बंगलादेशलाई जिल्याउने अवसर
Leave a Comment