वैशाख ६, काठमाडौँ । सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख मानिसले लगाएका थिए ।

एक लाख २३ हजारलाई ‘भेरोसेल’

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको जानकारी दिनुभयो ।

‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो । गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो । उहाँले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिनुभयो ।

खोपको दोस्रो मात्रा मङ्गलबारदेखि
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment