किसानलाई टुरिजममा ल्याएर ग्ल्यामरस बनाउनुपर्छ : विएस्सी एजी गर्नुभएका कालु हमालको यो कमाल

Posted on: 02 Dec, 2016

कैलाली जिल्ला टिकापुर नगरपालिकाको वडा नं. ७ झण्झटपुरमा कालु हमालले चितवनको रामपुर क्याम्पसबाट २०४० सालमा कृषि विज्ञान विषयमा स्नातक  गर्नुभयो । त्यतिवेला वहाँले चाहानुभएको भए निकै आकर्षक सरकारी जागीर खान सक्नुहुन्थ्यो तर वहाँले त्यसो नगरी आफ्नै स्वाभिानमा रमाउनका  बर्दियाको सिमानासँग जोडिएको कैलाली जिल्लाको टीकापुरमा आएर एग्रो फार्मिङ (बनाना कटेज) शुरु गर्नुभयो । जसलाई टुरिजमको संरचनामा विकास गर्दै मनग्ये आम्दानीका साथै पर्यटन पनि प्रर्वद्धन गरिरहनुभएको छ । वहाँसँग केही समय अघि साझा सवाल बर्दियाका सम्पादक प्रभात सुवेदीले गर्नुभएको निकै रोचक कुराकानी :

केराका ४० परिकारका साथमा कालु हमाल ...

यो क्षेत्रमा कसरी आउनुभयो ? 

विएस्सी एजि सकेपछि २०४० सालमा कमर्सियल फर्मिङ गर्न आएको थिएँ तर  सरकारले जग्गाको होल्डिङ कम गरेकोले म यतातिर मोडिएँ र १ कठ्ठा जग्गाबाट एग्रो टुरिजम भनेर शुरु गरेको हुँ । अहिले यसको क्षेत्र वृद्धि गरी हाल एउटा रिसोर्ट सञ्चालन गरेका छौँ । अरु थप दुइओटा सञ्चालनको क्रममा रहेका छन् । 

अनि यहाँबाट उत्पादन हुने परिकारका बारेमा बताइदिनुहुन्छ कि ? 

यहाँबाट ४० प्रकारका केराका परिकारहरुको स्वाद लिन पाइन्छ । जसमा वियर, ब्राण्डीदेखि, मःम, चिप्स, रोटी, अचार, तरकारी लगायतका छन् । विभिन्न भेराइटीहरुमा हामी परिकारहरु तयार गर्ने गरेका छौँ । 

केराकाे तरकारी र अचारका परिकारहरु ....

यहाँले यसलाई शहरबजारतिर नगरेर किन गाउँमा केन्द्रित गर्नुभयो ? 

हाम्रो उद्देश्य किसानहरु कसरी टुरिजममा कसरी आउने भन्ने रहेको छ । यो देशको विकास हुनका लागि किसानहरु टुरिजम क्षेत्रमा आउनु पर्दछ । नेपालको विकासका लागि पनि विशेषज्ञहरुले कि त जलविद्युत कि त टुरिजम नै मुख्य आधार रहेको बताएका छन् । तर जलविद्युतको विस्तारमा विविध समस्याहरु छन् । तर टुरिजमलाई कुनै क्षेत्रमा मात्रै सिमित र संकुचित गर्न थाल्यौँ भने यसले व्यापकता पाउन सक्दैन । बहुसङ्ख्यक जनता कृषक भएकोले तिनिहरुलाई कसरी टुरिजमको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने हिसाबले हामीले एउटा यस्तो मोडल तयार ग¥यौँ जसलाई जसले जहाँ पनि गर्न सकिने भएको छ । यसलाई नेपालको कुनै पनि भौगोलिक क्षेत्रमा सहज रुपमा सञ्चालन गर्न सकिन्छ । यसो भयो भने किसानको जिन्दगी ग्ल्यामरस हुन्छ भन्ने हिसाबले यो सानो प्रयास गरेका हौँ । 

अनि यति धेरै योग्यता भएर पनि सरकारी सेवामा प्रवेश गर्ने मोह जागेन त ? 

सरकारी जागीरतर्पm आकर्षण कहिल्यै पनि भएन किनकी यसको लागि कि त करप्टेड हुनु प¥यो कि त फ्रस्टेड हुनु प¥यो । यि दुई विकल्पहरुबाट पर रहनका लगि नै मैले यो अवधारणा ल्याएर यसलाई टुरिज्मको रुपमा विकास गर्ने सोच बनाएको हुँ । यसमा कसैलाई ठग्न पनि परेन, ढाँट्न पनि परेन त्यसैले त्यतिबेला यसैलाई नै उपयुक्त मानेको हुँ । 

यसबाट सन्तुष्ट हुनुहुन्छ त ? 

छु । यसबाट पनि अरबौँ कमाउन सकिने ठाउँ छ । नेपालमा विविध विविधता छ र यही विविधताबाट नै हामी धनी बन्न सक्छौँ । नेपालको टुरिजम तीनओटा क्षेत्रमा मात्रै रहेको एडभेन्चर, नेचर र कल्चरमा मात्रै सिमित रहेकोमा अब त्यो भन्दा पनि व्यापक गर्नु पर्दछ । यसको सिमितता तोड्नु प¥यो र नयाँपन दिन सक्नु पर्यो । विविधता विक्री गरौँ । हजारौँ रिसोर्ट खोलौँ । आय आर्जन त कति हो कति ? भारत र चीनबाट यहाँ आराम गर्न बोलाउँ अरु देशबाट भन्दा पनि छिमेकी मुलुक नै हाम्रो लागि आम्दानीका स्रोत हुन सक्दछन् । 

उसोभए विदेशबाट कत्तिको पर्यटकहरु घुम्नका लगि आउँछन् ? 

 सन्सारभरका पर्यटकहरु नै आएका छन् यहाँ । अहिले पनि भारतको दिल्ली स्थित सोफिया कलेजबाट एग्रो टुरिजम विषयमा डकुमेन्ट्री तयार गर्न विद्यार्थीहरु आएका छन् जसको सुटिङ भैरहको छ । 

खासगरी केराका परिकारहरुमा कुन–कुन भागहरु प्रयोग गरिन्छन् ? 

केराको बोटको हरेक भाग प्रयोग गर्न सकिन्छ । हामीले अझ यसको पूर्ण सदुपयोग गर्न सकेका छैनौँ । फल, बुगो, जराहरुको प्रयोग गरेर नै यी परिकारहरु तयार गरिएको हो । खासगरी यसबाट हामीले २० देखि २२ लाख वर्षमा एक कठ्ठाबाट आम्दानी गर्न सक्छौँ । त्यसैले हामीले विविधता बचाएर भारत र चीनको मात्रै जनतालाई आकर्षण गर्न सक्यौँ भने पनि हामी धेरै हदसम्म सम्पन्न हुन सक्छौँ । 

केराको बुँगो पनि यसरी प्रयोग गरिन्छ ...

यस सम्बन्धी कतै केही तालीम पनि लिनुभएको छ कि ? 

खासै छैन, आफ्नै सोच र योजनाले नै यहाँसम्म आएँ तर खाद्य तथा गुणस्तर विभागका विजय खनालले भने केही आइडिया दिनुभयो र केराको फलबाट वाइन तथा ब्राण्डी बनायौ । बजारमा गएर विक्री नभएको केराबाट रक्सी बनाएर राख्यौँ भने किन्न पर्दैन अर्गानिक रक्सी तयार गरेका छौ । यसका लागि आवश्यक कच्चा पदार्थ यहीँ नै पर्याप्त छ कतैबाट ल्याउन परेको छैन ।

तपाईंले यो काम गर्दै गर्दा के–के चुनौतीहरु देख्नुहुन्छ ?  

चुनौतीहरु थुप्रै रहेका छन् । तर हामीलाई ती चुनौतीहरुको सामना गर्नका लागि बचपनदेखि नै सिकाएन यो समाजले । आफूलाई आइसोलेट गर्न मात्रै सिकायो । सामना गर्ने बानीको विकास नभएका कारण “गुमराह तो वो है जो घरसे निकले नही” भन्ने भएको छ । चुनौतीहरु भन्दा पनि हाम्रो नेपाली संस्कार नै दोषी छ एकजनाले कमाउने पूरा परिवारलाई थेग्नुपर्ने । विदेशमा जे काम पनि गर्न हुने तर यहाँ गर्न नहुने । चुनौतीहरुको सामना गर्दै अगाडि बढ्न सकेमा प्रगति नै यसमै छ ।

कालु हमालका साथमा साझा सबाल बर्दियाका सम्पादक प्रभात सुवेदी ....

अन्तमा, के भन्न चाहनुहुन्छ ? 

नेपालीहरुमा नेपाललाई हेर्ने दृष्टीकोण नै फरक छ । नकारात्मक दृष्टिकोणबाट हेरेर नेपालमा केही पनि छैन भन्ने बानी आम नेपालीहरुमा परिसकेको छ । तर, यो हैन नेपालमा के छैन ? नेपालमा सबै थोक छ । “स्टिल दियर आर अ लट अफ होप ईन नेपाल, ईफ यू विल नट विलिभ ईट, वन्स यू कम यू विल नेभर फर्गट, दिस इज माइ च्यालेन्ज ! र धन्यवाद तपाईलाई र तपाईको यो मिडिया साझा सबाल अनलाइनलाई पनि । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!