मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ को रोकथाम, प्रतिरक्षा र उपचार समिति गठन

Posted on: 29 Mar, 2020

चैत १६, विराटनगर | प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन शनिबार विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समिति गठन भएको छ ।

यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठन भएका समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधिहरु सदस्य रहनुभएको छ ।  

बैठकले कोरोना भाइरस विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाइरस विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने समेत निर्णय गरेको छ । 

यसैबीच मुख्यमन्त्री राईको अध्यक्षमा बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई रु एक करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरिएको छ । 

कोष सञ्चालक समितिको बैठकले नेपाली सेनालाई क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पुर्याउने जिम्मेवारी तोकिएको छ । 

त्यस्तै नेपाल र प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, सङ्क्रमितहरुको सुरक्षा र ‘लकडाउन‘लाई प्रभावकारीरूपमा कार्यान्वयन गराउने जिम्मेवारीसमेत बैठकेले तोकेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!