जनकपुरमा निर्माणाधिन ढल तथा सडक निर्माणमा ढिलासुस्ती

Posted on: 29 Nov, 2016

मङ्सिर १४, धनुषा । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत जनकपुरमा निर्माणाधिन ढल तथा सडक निर्माणमा ढिलाइ भएको छ । 

उक्त कार्यमा ढिलासुस्ती हुँदा जनकपुरवासीले चिन्ता व्यक्त गरेका छन् । करिब रु ९९ करोडको आयोजनाले सन् २०१६ फरवरीमा जेडआइसी, शर्मा जेभि कन्ट्रक्सनलाई ३२ किलोमिटर ढल तथा नौ किलो मिटर पक्की सडक निर्माणको ठेक्का दिएको थियो । ठेक्का लागेको नौ महिना वितिसक्दा समेत कामले गति पाउन सकेको छैन । 

कम्पनीले साढे चार किलोमिटर ढलको निर्माण गरेको छ । सन् २०१८ फरवरीसम्ममा काम सम्पन्न गर्ने जिम्मा ठेकेदार कम्पनीले पाएको थियो । जनकपुर उपमहानगरपालिका– ८ का सरोज मिश्र समयमा काम पूरा हुने कुनै छाँटकाँट नदेखेको बताउनुहुन्छ । 

एकीकृत सहरी विकास आयोजना जनकपुरका उपप्रमुख इन्जिनियर वीरेन्द्र यादव फरवरीमा ठेक्का लगाए पनि विभिन्न कारणले वैशाखबाट मात्र काम सुरु भएका कारण ढिलाइ भएको बताउनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!