सडकको कमालसँगै फेरिँदै डोल्पालीको जीवन

Posted on: 17 Jan, 2019

 रामचन्द्र न्यौपाने | माघ ३, डोल्पा |  वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ । 

सडक खुलेसँगै जीप, ट्र्याक्टर, मोटरसाइकललगायतका यातायातका साधन भित्रिन थालेका छन् । यसअघि गाडी नहँुदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर विकास निर्माणका सामग्रीसमेत खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता भए पनि सडक पुगेपछि खच्चडप्रतिको निर्भरता घटेको त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताउनुभयो । 

आजभोलि चामल, तेल, साबुन, लत्ताकपडालगायतका दैनिक उपभोग्य सामग्रीका साथै विकास निर्माणका लागि चाहिने सिमेन्ट, छड, जस्तापातालगायतका सामग्रीसमेत जीप, ट्र्याक्टरबाटै ढुवानी गर्न थालिएको उहाँको भनाइ छ । 

यसअघि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न रुकुमको चौहरजारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लुबगरलगायतका बजारमा पुग्नुपर्ने बाध्यता थियो । अहिले छलगाडबाटै सामग्री ढुवानी गरेर जिल्लाका विभिन्न विकट गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गरेको खच्चड व्यवसायीको भनाइ छ । 

जाजरकोट–डोल्पा सडकखण्डको निर्माण कार्य सम्पन्न भएर गत असोज १६ गते डोल्पा पूर्णरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकखण्डको निर्माणकार्य सम्पन्न भएर सदरमुकाम दुनैसम्मको कच्ची ट्र्याक खुलाइसकिएको छ । 

नगरपालिकासम्म गाडी पुगेपछि डोल्पालीलाई निकै सहज भएको शे फोक्सुन्डो गाउँपालिका–१ साल्दाङ्का स्थानीय उर्गेन दोर्जे गुरुङले बताउनुभयो । “सेनाकै अथक प्रयासबाट डोल्पासम्म मोटरबाटो पुगेको हो, उपल्लो डोल्पासम्म सडक जोड्ने काममा पनि ठेकेदारलाई नदिएर सेनाकै जिम्मा दिनु राम्रो हुन्छ”, उहाँले भन्नुभयो । 

कूल लम्बाइ ११७ दशमलव ७७ किमी रहेको जाजरकोट–डोल्पा सडकखण्डको निर्माणकार्य पूरा गरेर गत मङ्सिर ४ गते नगरपालिका–१ मा पर्ने छलगाडखोलामा औपचारिक उद्घाटन भएसँगै खदाङ–छलगाडसम्म जीप चल्न थालेको छ । 

यसअघि नगरपालिका–५ अन्तर्गत पर्ने खदाङसम्म जीप चल्ने गरे पनि अब नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बगर बजार नजिकै पर्ने छलगाडबाटै गाडी चढ्न पाइन्छ । पहिले करीब चार घण्टाको पैदल हिँडेपछि मात्रै गाडी भेटिने भए पनि अब घरबाटै गाडी चढ्न पाइने त्रिपुराकोटवासीले बताए । 

आजभन्दा चार दशक अगाडिसम्म नेपालगञ्ज काठमाडौँ पुग्न १० देखि १२ दिनसम्म लाग्ने गर्दथ्यो । अहिले सडक पुगेसँगै यात्रा छोटिएर दुई दिनमै सुर्खेत नेपालगञ्ज पुगिन्छ । डोल्पा प्राकृतिक स्रोत साधनले भरिपूर्ण भए पनि यातायातको अभावमा थाप्लो र नाम्लोको भरमा चलिरहेको डोल्पाली जनताको दैनिकी विस्तारै सुविधा उन्मुख भएको प्रजिअ भूपेन्द्र थापाले जानकारी दिनुभयो । 

सडक पुगेसँगै हप्ताँै लगाएर सुर्खेत नेपालगञ्जलगायतका शहरमा जानुपर्ने बाध्यता हटेको छ तर सडकको बीचमा पर्ने भेरी नदी र ससाना खोलामा पुल नभएका कारण आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । 

अप्ठेरो बाटो र खच्चडबाट ढुवानी गरिएको भन्दै स्थानीय बजारमा पाइने हरेक सामानमा दोब्बरतेब्बर मूल्य उठाउँदै आएका व्यापारीले सडक पुगेपछि सामानको मूल्य घटाएका छन् । 

यसअघि रु तीन हजार तीन हजार ५०० सम्म पर्ने ३० किलो दुर्गा चामलको मूल्य रु दुई हजार २०० देखि दुई हजार ४०० सम्ममा पाइने गरेको स्थानीयवासीको भनाइ छ । 

यस्तै स्थानीय बजारमा पाइने हरेक सामानको मूल्य घटेको छ । तीन–चार महीनाअघिसम्म मान्छे हिँड्न मुस्किल पर्ने साँघुरो सडक निर्माणपछि चौडा बनेका छन् । 

सडक पुगेपछि डोल्पाका त्रिपुरासुन्दरी मन्दिर, शे–फोक्सुन्डो ताल, शे गुम्बा, सुलिगाड झरनालगायतका मुख्य पर्यटकीय गन्तव्य अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । पर्यटकको सङ्ख्यामा वृद्धिसँगै त्रिवेणी, खदाङ, त्रिपुराकोट, जुफाल, दुनैलगायतका बजारमा व्यापार व्यवसायसमेत फस्टाएको छ । 

“डोल्पासम्म बाटो खुलिसकेकाले अब खच्चडको भर पर्नुपर्ने बाध्यता छैन, सयौँ खच्चडले ल्याउने सामान एउटै ट्र्याक्टरले सजिलै भनेकै ठाउँमा पु¥याउन सक्छ, अब डोल्पालीका सुखका दिन आउन थालेको छ”, ठूलीभेरी नगरपालिकाका स्थानीय योगेन्द्र बूढाले भन्नुभयो । 

सडक जोडिएसँगै बजार नपाएर घरमै कुहिँदै आएको जैविक स्याउ, ओखरलगायतका फलफूलले समेत बजार पाएको र डोल्पालीको आयस्तरमा वृद्धि हुन थालेको उहाँको भनाइ छ । 

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने विशाल भिरपाखा छिचोल्न अत्यन्तै चुनौती भएपछि दृढ इच्छाशक्तिका कारण सेनाले डोल्पासम्म बाटो जोडेर डोल्पाली जनताको वर्षौंदेखिको सपना साकार पारेको प्रमुख सेनानी कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो । 

नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकलाई केन्द्र र कर्णाली प्रदेश सरकारले समेत राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको छ । चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय सडकका रूपमा विकास गर्ने दुवै तहको सरकारको लक्ष्य छ । 

उपल्लो डोल्पामा पर्ने चीन र नेपालको सिमानामा पर्ने मोरिम्ला र क्याटो नाकाखोलेर व्यापारिक सडकका रूपमा विकास गरिने सरकारको लक्ष्य छ । जाजरकोट–डोल्पा सडकमा पर्ने सानाठूला गरेर एक दर्जन पक्की पुल निर्माण गर्दै सडकको कालोपत्रे गरेपछि डोल्पामा विकासको लहर चल्ने सरोकारवालाको भनाइ छ । 

डोल्पाको त्रिपुराकोटको छलगाडसम्म ट्रयाक खुलाउने कार्यसम्पन्न भई औपचारिक उद्घाटन गरिए पनि दुनैसम्म सिधा यातायात सञ्चालनमा ल्याउन जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न स्थानमा १३ वटा मोटरेवल पुल निर्माण गर्नुपर्ने छ । 

भेरी नदीमा आवश्यक पाँचवटा पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले तल्लु, हरियापानी र सुँपानीमा तीनवटा पुल निर्माण गर्न बाँकी छ । त्यस्तै सडकका बीच–बीचमा रहेका ससाना खोलामा दश स्थानमा पुल निर्माण गर्न आश्यक रहेको सेनाले जनाएको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!