प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on: 18 Jan, 2019
प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र 
माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । 
मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश गर्ने फर्पिङस्थित दक्षिणकाली नगरपालिकाको कार्यालयबाट अगाडि मूल सडकबाटै प्लास्टिकलगायत फोहर फालेको थुप्रो देखिन्छ । 
मन्दिर क्षेत्रमुनिको वनभोजस्थलमा फालिएका प्लास्टिक, कागजलगायत सामग्रीले पवित्र धार्मिक स्थलको गरिमामा आँच आएको दर्शन गर्न आउनुभएका रामशरण बञ्जाराले बताउनुभयो । धार्मिक पर्यटकीयस्थललाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्नुपर्नेमा भगाउने वातावरण बनाइएको दर्शनार्थीको भनाइ छ । 
शिखरापुरको घना जङ्गलमा भेटिएको शिलाको मूर्तिलाई करीब ४०० वर्षअघि राजा प्रताप मल्लले पूर्णावती र उद्धारवती नदीको सङ्गममा दक्षिणकालीको मूर्ति स्थापना गर्न लगाएको पूजारी राजेशमान कर्माचार्यले जानकारी दिनुभयो । त्यही समयदेखि यो क्षेत्र शक्तिपीठका रुपमा प्रसिद्ध छ । 
राजा प्रताप मल्ललाई सपनामा मूर्ति दुई नदीको सङ्गममा स्थापना गरेपछि राज्यमा फैलिएको महामारी र सङ्कट निवारण हुन्छ भनी सन्देश प्राप्त भएको किंवदन्ती छ । चामुण्डास्वरूपकी दक्षिणकालीसँगै यहाँ गणेश, भैरव, ब्रह्मायणी, महेश्वरी, कौमशरी, वैष्णवी, बाराही, इन्द्रायणी, नारसिंहीको मूर्ति पनि स्थापना भएको थियो । 
मन्दिर स्थापना हुँदा तान्त्रिक लम्बकर्ण भट्टले चलाएको परम्परा अनुसार अहिले पनि यहाँ दैनिक तान्त्रिक विधिले पूजाअर्चना हुने गरेको छ । ऐतिहासिक महत्वको मन्दिर क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न एकदशक अघि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष योजना शुरु भएको थियो । 
योजनाको काम अझै चलिरहेको समितिको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दयाराम पाण्डे विभागले प्राविधिक सहयोग गरी स्रोत आन्तरिकरूपमै जुटाउनुपर्ने भएकाले दशक बित्दा पनि काम नसकिएको बताउनुहुन्छ । आन्तरिक स्रोतबाटै यहाँ कार्यरत कर्मचारीको सेवा सुविधाको व्यवस्थापन हुने गरेको छ । 
मन्दिर क्षेत्रलाई सफा बनाउन यसै वर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नगरपालिकामार्फत ढल विच्छ्याउने प्रयोजनका लागि रु २५ लाख प्राप्त भएको उहाँले सुनाउनुभयो । मन्दिर क्षेत्रमा दर्शन, वनभोज गर्न आउने र केही स्थानीयवासीले पूर्णावती एवं उद्धारवती नदी किनारमा फोहर फाल्ने गरेको कार्यालय प्रमुख पाण्डेले सुनाउनुभयो । 
पछिल्लोपटक माघ १ गते वनभोज गर्न आएकाले फालेको फोहर अझै सफाइ गरी नसकिएको कार्यालयले जनाएको छ । समितिको कार्यालयमा २१ कर्मचारी छन् । सातजना भने सफाइकै लागि राखिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!