चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

Posted on: 05 Apr, 2017

चैत २३, इलाम । स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । 

ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनौटको तयारी गरिरहेका हुन् । 

चुनाव घोषणापछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । यहाँका अधिकांश राजनीतिक दल स्थानीय निकायको पुनःसंरचना अनुरूप दलको संरचना बनाउने गृहकार्यमा लागिपरेका छन् । नेपाली काँग्रेसले हालै जिल्ला सदरमुकाममा सम्पन्न गरेको तीन दिने प्रशिक्षणमा स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारी थालेको जनाएको छ । 

स्थानीय तहअनुसार पार्टीको संरचना बनाएर चुनावी तयारीमा लागिसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले बताउनुभयो । 

सचिव देवानले भन्नुभयो, “पार्टीको पुनःसंरचनापछि उम्मेदवारबारे निर्णय गरेर चुनावमा लाग्छौं, स्थानीय निकायको पुनःसंरचना ढिला आएकाले छिटो÷छिटो गरेर चुनावी तयारीलाई समेत तीव्रता दिएका छौँं ।” 

नेकपा (एमाले) ले पनि चुनावको तयारी ब्यापक रूपमा गरिरहेको जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत संविधान कार्यान्वयनका लागि जागरण अभियान गाउँ÷गाउँमा सञ्चालन गरेको सो दलले आफ्ना सबै मोर्चासँग बसेर छलफल गर्ने र मतदातासँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम गरिरहेको एमाले उपसचिव उमेश गुरूङले जानकारी दिनुभयो । “स्थानीय तहअनुसार पार्टी कमिटीको संरचना बनाउँदै चुनावी तयारीमा लागेको उहाँले बताउनुभयो ”। 

तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह अनुसार पार्टी कमिटीलाई समायोजन गर्ने र उम्मेदवार छनौटको अन्तिम तयारी गरिरहेको जनाएको छ । प्रदेशको बैठकले नयाँ संरचनाअनुसार पार्टीका कमिटीलाई समायोजन गर्ने निर्णय भएकाले सोहीअनुसार काम गरिरहेको माओवादी केन्द्रका इन्चार्ज धीरेन्द्र शर्माले बताउनुभयो । 

नेताले कार्यकर्ता र मतदातासम्म पुगेर भेटघाटलाई बाक्लो बनाउँदै लगेका अब एक÷दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लगाएर चुनावी कार्यक्रमलाई तीव्रता दिने उहाँले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ वटा राजनीतिथक दलले दल दर्ता गराइसकेको जिल्ला निर्वाचनका कार्यालय प्रमुख प्रेम काफ्लेले बताउनुभयो । कार्यालयले मतदाता शिक्षा, निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी व्यवस्थापनको कामसमेत तीव्र रूपमा भइरहेको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!