मलगाउँवासीको गाडी चढ्ने रहर अधुरै

Posted on: 17 Nov, 2020

मङ्सिर २, म्याग्दी | जलजला गाउँपालिका–१ मलगाउँका समबहादुर तिलिजाको आँगन सडकमै जोडिए पनि काम विशेषले कतै जानुपर्दा ३० मिनेट पैदल हिँडेर बाँसखर्क पुगेपछि मात्रै गाडी चढ्न पाउनुहुन्छ । “सवारी साधन आवश्यक पर्दा महङ्गो भाडा तिरेर रिजर्भ गर्नुपर्ने अथवा हिँडेर बाँसखर्क पुग्नुपर्ने बाध्यता छ”, सडक निर्माण समितिका अध्यक्षसमेत रहनुभएका तिलिजाले भन्नुभयो, “ऋणमा खनेको बाटोमा गाडी पनि चलेको छैन । ऋण तिर्न पनि सकिएन । दोहोरो मर्कामा परेका छौं ।”

मलगाउँका बासिन्दाले १० वर्षअघि ट्र्याक खोलेको बाँसखर्क–लोप्रे हँुदै नागी जोड्ने सडकमा यातायातका साधन सञ्चालन नहुँदा यातायात सुविधाबाट वञ्चित भएका हुन् । बेनीबाट मल्लाज, बाँसखर्क, मलगाउँ, लोप्रे हुँदै नागी जोड्ने छोटो दूरीको यो सडक स्तरोन्नति र मर्मतसम्भारको अभावमा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित भएका हुन् ।

बाँसखर्कबाट मलगाउँ पुग्न रु एक हजार ८०० देखि रु दुई हजार तिरेर जिप रिजर्भ गर्नुपर्ने समस्या छ । बाँसखर्कसम्म भने नियमित जिप चल्छन् । मलगाउँमा ३२ र छिमेकी चिनाखेतगाउँमा १३ घरधुरीको बसोबास छ । लोप्रे हुँदै नागी आवतजावत गर्ने गाडीले मलगाउँको सडक प्रयोग गरेमा स्थानीयवासीलाई सहज हुने थियो ।

मलगाउँ र लोप्रेको बीचको जङ्गलका केही ठाउँमा सुधार र मर्मत गरेमा सडकमा गाडी चलाउन सकिने तिलिजाले बताउनुभयो । विसं २०६६ मा बाँसखर्कको देउरालीबाट शुरु भएको छ किलोमिटर दूरीको लोप्रे जोड्ने सडकको ट्र्याक खोल्ने काम २०६८ मा सकिएको थियो । 

तत्कालीन बाँसखर्क गाविसको रु चार लाख, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको सांसद विकास कोषको रु १६ लाख र जिविसबाट रु सात लाख सहयोग आएको थियो । सडक बनाउन लागेको ऋण तिर्न उपभोक्ताले प्रतिघर रु २५ हजारका दरले नगद सङ्कलन गरेका थिए । सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर सडक खनेका थिए । बेनीबाट मल्लाज र शालिजा हुँदै लेकफाँटको फलामेडाँडा जोड्ने सडक करिब ३५ किलोमिटर दूरीको छ । मल्लाज–बाँसखर्क–मलगाउँ–लोप्रे हुँदै फलामेडाँडा जोड्ने सडक करिब १४ किलोमिटर छोटो भएको उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

कच्ची अवस्थामा रहेको सडक साँघुरो, ग्रेड र घुम्ती तथा मोड सुधार गर्न आवश्यक छ । स्तरोन्नन्ति गरेर गाडी चल्ने बनाउनका लागि चालु आर्थिक वर्षमा जलजला गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!