म्याग्दीका किसान प्रविधिमैत्री बन्दै

Posted on: 18 Jan, 2018

माघ ४, म्याग्दी | सीमित जनशक्ति र समयको बचत हुने भएपछि म्याग्दीका किसान खेत जोत्न ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । 

युवा जनशक्ति विदेश पलायन भइरहेका बेला यस्ता प्रविधि किसानका लागि बरदान सावित भएको छ । युवा विदेशिएको अवस्थामा हलगोरुले खेत जोत्ने परम्परा अचेल विस्तारै कम हँुदै गएको छ । यसको मुख्य कारण वैदेशिक रोजगारले युवा जनशक्तिको अभाव हुनु नै हो । यसको सट्टा समय र श्रमको बचत हुने भएकाले ट्र्याक्टरको प्रयोगतर्फ किसानको आकर्षण बढ्दो छ । हाते ट्र्याक्टर होस् या चार पाङ्ग्रे ठूलो ट्र्याक्टर अधिकांश किसानको खेतबारीमा गुड्न थालेका छन् । 

हलगोरुले भन्दा सयौँ गुणा छिटो खेत जोत्न सकिने र लगानी पनि समान हुने भएकाले ट्रयाक्टरको प्रयोग गर्न थालिएको बाबियाचौरका अगुवा किसान हरिमाया किसानले बताउनुभयो । 

हाते ट्र्याक्टरका लागि सामान्य र चार पाङ्ग्रो ट्र्याक्टर सञ्चालनका लागि केही महिना सीप सिकेर किसानले यसको प्रयोग गरिरहेका छन् । ट्र्याक्टर खेत जोत्दा सहज हुनाका साथै राम्रो पनि हुने ट्र्याक्टर चालक एवं अर्मनका किसान यामबहादुर विक जानकारी दिनुभयो । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लाको ताकम, दरबाङ, बाबियाचौर, अर्मन, कुहु, पात्लेखेत, विम, निस्कोट, देवीस्थान, बेनी नगरपालिकाको घतान, रत्नेचौर, घतान, पुलाचौर, सिंगालगायतका क्षेत्रमा यसको प्रयोग बढी छ । 

कार्यालयले चार वर्षदेखि कृषि इञ्जिनियरिङ निर्देशनालयसँग सहकार्य गरेर ३० प्रतिशत अनुदान सहयोगमा ट्र्याक्टर वितरण गर्दै आएको छ । गत आवमा हाते र चारपाङ्ग्रे गरी १५० वटा ट्र्याक्टर वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ । 

कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले ठूला फाँटमा चार पाङ्ग्रे र साना गरामा हाते ट्र्याक्टरको प्रयोग हुने गरेको बताउनुभयो । उहाँका अनुसार वर्षेनी यस्ता ट्र्याक्टरको माग उच्च हुने गरेको छ । 

अनुदानमा खरिद गर्दा किसानले हाते ट्र्याक्टरलाई रु ३५ हजारसम्म तिर्नुपर्ने हुन्छ । किसान प्रविधितर्फ आकर्षित हँुदै जाँदा उत्पादनसमेत बढ्दै गएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!