म्याग्दीमा छ महिनामा २६ प्रतिशत बजेट खर्च

Posted on: 24 Jan, 2018

माघ १०, म्याग्दी |अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । 

वित्तीय समानीकरण अनुदान र सशर्त अनुदान गरी रु २२ करोड २६ लाख ८७ हजार बजेट विनियोजन गरेको सो गाउँपालिकाले पुस मसान्तसम्ममा रु पाँच करोड ८८ लाख ४१ हजार मात्र खर्च गरेको छ । 

हालसम्म रु १४ करोड ८४ लाख ५६ हजार निकासा प्राप्त भएकोमा रु आठ करोड ९६ लाख छ हजार खर्च हुन बाँकी रहेको सो गाउँपालिकाका लेखापाल इन्द्रबहादुर केसीले जानकारी दिनुभयो । वित्तीय समानीकरण अनुदानअन्तर्गत हालसम्म रु एक करोड आठ लाख नौ हजार खर्च भएको छ । चालूतर्फ रु ६५ लाख ६० हजार र भौतिक पूर्वाधार योजनाका लागि विनियोजित मध्ये रु ४३ लाख ३० हजार खर्च भएको उहाँले बताउनुभयो । 

शिक्षा, स्वास्थ्य, पशु, कृषि विकासलगायत विषयगत कार्यालयका कर्मचारीको तलबभत्ता र ती कार्यालयमार्फत सञ्चालन हुने कार्यक्रमका लागि शःसर्त अनुदानबाट विनियोजन भएको रु आठ करोड २१ लाख ९३ हजार मध्ये रु चार करोड ७९ लाख ५८ हजार खर्च भएको छ । 

यसैगरी छ महिनाको अवधिमा मालपोत, पञ्जीकरण, सिफारिस, भाडा, पशुचौपाया, ढुंगा गिट्टी, तातोपानी कुण्ड व्यवस्थापन, मनोरञ्जन र शिलबन्दी दस्तुरबापत रु ३३ लाख १३ हजार आन्तरिक आम्दानी भएको छ । बर्खा, खेतीबाली भित्र्याउने, चुनाव, कर्मचारी अभावका कारणले हालसम्म पूर्वाधार विकासका कामले गति लिन नसकेको गाउँपालिकाले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!