सेज स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

Posted on: 13 Mar, 2017

फागुन ३०, नुवाकोट । सरकारले यसअघि नै जनाएको प्रतिबद्धताअनुसार नुवाकोटलाई विशेष आर्थिक क्षेत्र (सेज) कार्यान्वयन गर्न माग गरिएको छ । 

सरकारले पछिल्लो १० वर्षदेखि नुवाकोटसहित विभिन्न जिल्लालाई सेज घोषणा गर्न जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न उद्योग वाणिज्य सङ्घले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको ध्यानाकर्षण गराएको हो । 

सङ्घका जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको रातमाटेको महादेवफाँट, जिलिङको पाँचखलेसहित आसपासका क्षेत्रमा सेज घोषणाको तयारीका लागि २०६१ सालमा नै सम्भाव्यता अध्ययन पूरा गरेको बताउनुभयो । सेजको स्थापनाबाट नयाँ रोजगारको सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन र दैनिक उपभोग्य सामग्री आफ्नै स्थानमा उत्पादन गर्न सक्षम हुने उहाँको भनाइ छ । 

सरकारले यसअघि विदुर नगरपालिका–६ खम्बाक्याम्पमा सेज निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो । जिल्लामा ठूला उद्योग तथा कलकारखाना नहँुदा यहाँका व्यवसायी तथा उद्योगी निराश भएका अध्यक्ष कार्कीले बताउनुभयो । 

ज्ञापनपत्र बुझ्दै मन्त्री केसीले सरकारको अहिलेको ध्यान निर्वाचनमा केन्द्रित रहेको र निर्वाचन आचारसंहिता जारी भएकाले कार्यान्वयनमा केही समस्या हुने बताउनुभयो । “निर्वाचनपछि विकास तथा आर्थिक समृद्धिमा केन्द्रित रहेर प्रक्रिया अगाडी बढाउँछौँ,” मन्त्रीले केसीले भन्नुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!