बाघको आक्रमणबाट प्रहरी निरीक्षकसहित चार घाइते

Posted on: 07 Feb, 2017

माघ २५, पर्सा । जिल्लाको महुवन गाविसमा आज जङ्गलबाट आएको बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित चारजना सख्त घाइते भएका छन् । 

पर्साको महुवन गाविसको खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गर्दा पर्सा लखनपृर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महिन्दर सहनीलाई आक्रमण गरेको हो । 

बाघले आक्रमण गरेको स्थानीय बासिन्दाले पर्सा प्रहरीलाई जानकारी दिएपछि अस्थाई प्रहरी चौकी महुवनका इन्चार्ज अरुण झा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघलाई धपाउन खोज्दा बाघले प्रहरी निरीक्षक शाह र अरुण झालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । 

यसैबीच, मानव वस्तीमा प्रवेश गरी सर्वसाधारणमाथि आक्रमण गर्ने बाघलाई आज अपरान्ह प्रहरीले गोली हानेर मारेको छ । 

प्रहरीले चलाएको गोली लागी घाइते भएको बाघ पर्साको लखनपुर–७ एकडढवा टोलमा रहेको बाँसको झ्याङबाट मृत अवस्थामा फेला परेको हो । 

बाघको आक्रमणमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक चक्रबहादुर शाह, लखनुपर–९ का मोतीलाल यादव, आसमन पटेल र रामनगरी–७ का महिन्दर सहनीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै पठाइएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!