महानगरको फोहरले सिर्सिया खोलाको मुहान थुनिँदै

Posted on: 07 Dec, 2018

मङ्सिर २१, पर्सा | वीरगञ्ज महानगरपालिकाले गरेको अव्यवस्थित फोहर व्यवस्थापनको कारण सिर्सिया खोलाको मुहाननै थुनिने खतरा उत्पन्न भएको छ । नगरक्षेत्रबाट सङ्कलन गरिएका फोहरलाई खोलाको तीरमा व्यवस्थापन गर्दै आएका कारण वीरगञ्जको इनर्वास्थित शङ्कराचार्यद्वार नजिकै रहेको सिर्सिया खोलाको मुहान सागुरिँदै गएको छ । 

अव्यवस्थित फोहर व्यवस्थापनका कारण ८ मिटर चौडाइमा बग्ने खोलाको मुहान हाल तीन मिटर भन्दा कम भएको छ । चारलाख भन्दा बढी जनसङ्ख्या रहेको महानगरपालिकाबाट दैनिक १२० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । नगरक्षेत्रबाट सङ्कलन भएका फोहरलाई महानगरपालिकाका कर्मचारीले वीरगञ्जको इनर्वा, श्रीपुर, सिर्सिया, राधेमाई, नगवालगायतका स्थानमा अव्यवस्थित रुपमै व्यवस्थापन गर्दै आएका छन् । 

अव्यवस्थित फोहरका कारण नगरबासीले ठूलो समस्या खेप्नु परेको छ । जथाभावी फोहर थुपारिएका कारण नगरक्षेत्र दुर्गन्धित हुनुका साथै सिर्सिया खोला समेत प्रदूषित हँुदै गएको छ । अव्यवस्थित रुपमा भएको फोहर व्यवस्थापन र त्यसबाट उत्पन्न भएको समस्याबारे महानगरपालिकाका उपसचिव शिवप्रसाद लम्सालसँग बुभ्mदा उहाँले फोहर व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्नुभयो । 

उहाँले वीरगञ्जको नगवामा फोहर व्यवस्थापन केन्द्र निर्माणकार्य अन्तिमचरणमा पुगेकोे र सो परियोजना पूरा भएपछि एक डेढमहीनाभित्र हाल देखिएका समस्या समाधान हुने दाबी गर्नुभयो । 

नगर क्षेत्रबाट उत्सर्जन भएको फोहरलाई व्यवस्थापन गर्न निजी क्षेत्रलाई पिपिपी मोडेलमा ठेक्का दिने प्रक्रिया पूरा भएको र आउँदो १५ दिनभित्र निजी क्षेत्रसँग सम्झौताको काम पूरा भई व्यवस्थित फोहर सङ्कलन तथा विसर्जन हुने उपसचिव लम्सालले जानकारी दिनुभयो । 

सङकलन गरिएका फोहर सिर्सिया खोलामा विसर्जन गरी खोलालाई प्रदूषित बनाएको आरोप लगाउँदै अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा महानगरसहित नौ उद्योगमाथि मुद्दा नै दर्ता गराएका छन् । 

महानगर विरुद्ध आदालतमा मुद्दा दर्ता भएपछि पनि खोलाको तिरमै फोहर व्यवस्थापन गराइरहेकोे घटनाले प्राकृतिक स्रोतसाधन संरक्षणप्रति महानगरका कर्मचारी गम्भीर नभएको नगरवासीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!