छुट्टाछुट्टै भएको दुर्घटनामा दुई जनाको मृत्यु

Posted on: 11 Mar, 2017

फागुन २८, लहान । सिरहाका दुई स्थानमा गए राति छुट्टाछुट्टै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका¬–७ मैनावती पुल नजिकै स७प १२४९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा  मोटरसाइकल पछाडि सवार सिरहा नगरपालिका–७ निवासी ३५ वर्षीय डोमा महराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका महराको उपचारका क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक गोलबजार नगरपालिका–२ निवासी २० वर्षीय रजेश महराको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी करेन्ट लगेर सिरहाको गोलबजार नगरपालिका–१ स्थित मुक्सारमा गए राति एक युवतीको मृत्यु भएको छ । हावाहुरीले विद्युत्को तार चुँडिएर करेन्ट चुहावट भई चार्जमा राखिएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर स्थानीयवासी १७ वर्षीया सानुकुमारी सुसलिङ मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!