पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड अवरुद्ध

Posted on: 21 Jul, 2020

साउन ६, दमौली | आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताउनुभयो । “दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ”, उहाँले भन्नुभयो, “करिब ४०/४५ मिनेटसम्ममा राजमार्ग सञ्चालन हुन्छ ।” राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् । 

निरन्तरको झरीका कारण जिल्लाका केही ठाउँमा घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । सोमबार राति केही घरहरुमा क्षति पुगेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!