तनहुँमा एउटै गाउँमा सातवटा मस्जिद

Posted on: 31 Oct, 2018

कात्तिक १४, दमौली | तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । 

करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको स्थानीय मुस्लिम अगुवा तथा खोदा बकस मदर्शाका अध्यक्ष फजिर महमद मियाँले जानकारी दिनुभयो । 

सम्जुरमा नेपालकै सबैभन्दा पुरानो दाबी गरिएको मस्जिदसमेत रहेको मियाँले बताउनुभयो । कुनै समय तनहँुको सम्जुरमा जिल्लाकै सबैभन्दा बढी मुसलमान समुदाय बस्ने भएपनि हाल यहाँ ती समुदायका २०० घरधुरी मात्र छन् । 

सदरमुकाम दमौलीमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी मुसलमान सम्जुरबाट नै झरेको सिरानोगाउँ मस्जिदका अध्यक्ष हाजी महमद याकुवले बताउनुभयो । अहिले प्रार्थना गर्ने व्यक्ति धेरै नहुँदा प्रायः सबै मस्जिद खाली नै हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले निकै भीड हुन्थ्यो तर अहिले सबै खालीखाली नै हुन्छ ।” मस्जिदमा बकर इद र इदुलफित्रमा भने निकै रमाइलो हुने गरेको उहाँले बताउनुभयो । 

केही मस्जिद जीर्ण भइसक्दा पनि बजेटको अभावमा मर्मत गर्न नसकिएकोे फजिर महमद मियाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!