पढ्न करिब 3 मिनेट लाग्छ
मङ्सिर ५, काठमाडौं । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो ।
१८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो । आगामी फागुनमा दुई वर्षको अवधि पूरा हुने भएकाले १९ गतेदेखि भाडाका गाडी सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । ‘कार्यविधि बनाउने काम भइरहेको छ,’ उनले भने, ‘केही दिनभित्रै सूचना निकाल्छौँ, फागुन १९ गतेबाट २० वर्ष पुराना भाडाका गाडी प्रयोग गर्न पाइँदैन ।’
आगामी १९ फागुनपछि पुराना गाडी व्यवसायी आफैँले पत्रु बनाउनुपर्ने भएको छ । बस, ट्रक, माइक्रोबसलगायतका भाडाका सवारीसाधन कवाडीमा बेच्नुपर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐनमा २० वर्ष पुराना गाडी हटाउनुपर्ने प्रस्ट प्रावधान छैन । तर, यातायात व्यवस्था विभागले आवश्यकताअनुसार पुराना गाडी नियन्त्रण गर्न सकिने जनाएको छ । सोही आधारमा विभागले २० वर्ष पुराना गाडी हटाउन लागेको हो ।
पहिलो चरणमा भाडाका सवारीसाधनमाथि २० वर्षको प्रावधान लागू गर्न लागिएको हो । क्रमशः निजी गाडी तथा मोटरसाइकलमा पनि लागू गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले बताए ।
२० वर्ष पुराना गाडीको विवरण संकलन भइरहेको र १९ फागुनदेखि ती गाडी सञ्चालन भएमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, व्यवसायी असन्तुष्ट छन् । ‘मिहिन ढंगले छलफल गरेर मात्र पुराना गाडी हटाउनुपर्छ,’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘व्यवसायीको ठूलो लगानी छ, त्यसलाई त्यत्तिकै फाल्न मिल्दैन, सरकारले क्षतिपूर्ति दिनुपर्छ ।’ २० वर्षभन्दा पनि गाडी कुदेको किलोमिटरलाई आधार बनाएर पुराना गाडी हटाउनुपर्ने उनी बताउँछन् । – आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
१. प्रदूषण नियन्त्रण
नेपालमा ३० वर्षभन्दा पुराना गाडी सञ्चालनमा छन् । पुराना गाडीले धेरै धुँवा फाल्ने भएकाले प्रदूषण बढाउँछ । नयाँ गाडीमा प्रदूषण नियन्त्रणको प्रविधिसमेत हुने भएकाले प्रदूषण कम हुन्छ । विकसित देशमा १० वर्ष पुराना गाडीलाई सहरी क्षेत्रमा चलाउन निषेध गरिन्छ । नेपालमा भने नियम लागू गरिएको छैन ।
२. दुर्घटना न्यूनीकरण
गाडी थोत्रो हुनु दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । १ फागुनमा महाराजगन्जमा बसको ठक्करबाट दुई चिकित्सकको मृत्यु भयो । गाडी पुरानो भएकै कारण ब्रेक नलाग्दा बाटोमा हिँडिरहेका दुई चिकित्सकलाई ठक्कर दिएको थियो । पहाडी जिल्लाहरूमा पनि दर्जनौँ पुराना गाडी सञ्चालित छन् ।
ती गाडीले क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको प्रतिवेदनमा उल्लेख छ । ‘दुर्घटनाको प्रमुख कारणमध्ये एक थोत्रा गाडी पनि हुन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल भन्छन्, ‘दुर्घटना न्यूनीकरणका लागि पनि पुराना गाडी हटाउनुपर्छ ।’ पुराना गाडीमा ‘ब्रेकिङ सिस्टम’लगायतको प्रविधि कमजोर हुने भएकाले हटाउनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
३. जाम न्यूनीकरण
पुराना गाडी हटाउनेबित्तिकै राजधानीका सडकबाट करिब दुई हजार गाडी हट्नेछन् । जसले राजधानीको जाम घटाउन सहयोग पुग्ने ट्राफिक प्रहरीको भनाइ छ । पुराना सवारीसाधन हटाएर ठूला बसहरू सञ्चालन गर्न सके राजधानीको ट्राफिक जाम घटाउन ठूलो सहयोग पुग्ने उनीहरू बताउँछन् ।