पत्रकारिता पेशाको खुलेयाम बद्नाम गर्दै बिभिन्न नाममा खुलेका अनलाइनहरुले आज पाठकहरुलाई 'अप्रिल फूल' भन्दै आफैलाई समेत 'फूल' बनाए तर त्यसरी प"/>
अनिल अधिकारी |
पत्रकारिता पेशाको खुलेयाम बद्नाम गर्दै बिभिन्न नाममा खुलेका अनलाइनहरुले आज पाठकहरुलाई 'अप्रिल फूल' भन्दै आफैलाई समेत 'फूल' बनाए तर त्यसरी पाठकहरुलाई मुर्ख बनाउने अनलाइनका संचालकहरुलाई प्रेस काउन्सिलले कुन हदसम्म कारवाही गर्ला हेर्न बाँकी छ |
पत्रकारले के गर्न हुने के गर्न नहुने समेत नजानेर खुद्रा पसलबाटै अनलाइन चलाएर पत्रकारिता पेशाको नाङ्गो व्यापार भईरहेकोमा सम्वन्धित निकाय मौन छ |
एकाबिहानै धुर्मुस सुन्तली पक्राउ भन्ने कु-समाचारबाट सुरु भएको अप्रिल फूलको सृंखला केहि अनलाइन मिडिया भनाउँदाहरुको लागि समाचार बने | समाचार कुन उध्यश्यले लेखिन्छ र यसले कतिसम्मको मर्यादा पालना गर्नुपर्छ भन्ने नबुझी जे मनमा आयो त्यसैलाई समाचार बनाएर आम पाठकलाई फूल बनाउंदै गर्दा सम्बन्धित निकायका कुनै धारणा आएका छैनन | यसको मतलव नेपालमा पत्रकारिताको अभ्यास कुनै निकायको नियमनमा चासोको बिषय नबनेको बुझ्न सकिन्छ |
कसरी हुन्छ आफ्नो अनलाइनमा पाठकलाई तान्न जे पायो त्यहि शिर्षक र जस्को पायो त्यस्को चरित्र हत्या गर्ने, समाचार नै बनाएर अपडेट गर्ने काम भएका छन् | त्यसमा पनि आज 'अप्रिल फूल' को सन्दर्भमा समाचार नै मजाकको बिषय बनेपछि आचारसंहिता उल्लङ्घनको नाङ्गो रुप छर्लंग भएको छ | आज एक दिनको लागि भए नभएका शिर्षक र घटना विवरण राखेर समाचार बनाउन आचारसंहिताले दिन्छ ? यदी दिंदैन भने भोलीकै दिनमा प्रेस काउन्सिल नेपालले त्यस्ता अनलाइनलाई हदैसम्मको कारवाही गरोस् अन्यथा पत्रकारिताको अभ्यास गलत ट्रयाकमा लैजान सम्बन्धित निकायले नै सघाईरहेको मान्न सकिन्छ |
यदी आचारसंहिता भन्ने के हो ? के लेख्न हुने के नहुने भन्ने नबुझी समाचार लेखिएको वा अनलाइन चलाईएको हो भने सरकारले के हेरीरहेको छ ? मजाकको बिषयमा समाचार लेख्न पाइन्छ ? वास्तविक पत्रकार हुन् भने चेतना हुन्छ कि आफ्नो पेशाको मर्यादा के हो ? अन्यथा यो पेशालाई बद्नाम बनाउने मुर्खहरुको झुण्डले अनलाइन मिडिया आम पाठकको नजरमा संवेदनाहीन बनाएका छन् | अनलाइनले जे पनि लेख्छ भन्ने भावना पैदा हुँदा समाचारको संवेदना र महत्व अर्थहीन हुन्छ ।
अप्रिल फूल मनाउने बहानामा पत्रकारिता जस्तो पेशामा घुसेर 'अप्रिल फूल' भन्दै समाचार लेख्ने घीनलाग्दो प्रवृतिको विकास हुन दिनु हुँदैन भन्ने धेरैको तर्क छ । अप्रिल फूल मनाउने केहि खास तरिका छन् । अप्रिल फूल भन्दैमा मानवीय संवेदना तथा पेशागत मर्यादामै असर पुग्ने किसिमका पोष्टहरु गरिनु हुँदैन भन्ने बुझ्ने कि नबुझ्ने ?
'अप्रिल फूल'मा मजाक कोसंग गरिंदैछ, के बिषयमा मजाक गरिंदैछ ? यो कुरा ध्यान दिनु पर्छ कि पर्दैन ? अप्रिल फूल मनाउँदा कुनैपनि व्यक्तिको शारीरिक तथा मानसिक चोट पुर्याउनु हुँदैन भन्ने बुझ्ने कि नबुझ्ने ? पत्रकार–संचारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य—तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ भन्ने नियमलाई किन मानिएको छैन ।
पत्रकारिताको व्यवहारिक अभ्यास नबुझी पत्रकारितामा हात हाल्नेहरुले बुझुन् – पत्रकारिताका आधारभूत मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रही जवाफदेही एवं उत्तरदायित्व तथा विश्वसनीयताको निर्वाह गर्न निष्ठापूर्वक उच्च व्यावसायिक अभ्यास गर्नुपर्दछ । पत्रकार आचारसंहिताको सबैभन्दा पहिलो स्थानमै गाली–बेइज्जती, शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन, प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन भन्ने उल्लेख छ । यसले कसैलाई मजाकको पात्र बनाएर पत्रकारिता गर्नु हुँदैन भन्ने स्पष्ट पार्छ ।
त्यस्तै 'व्यावसायिक मर्यादा विपरीत हुने विकृत र उत्तेजक सामग्री प्रकाशन–प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन' भन्ने बिषयले पनि पत्रकारिता कतिसम्मको मर्यादित पेशा हो भन्ने कुरा स्पष्ट पार्छ । त्यस्तै पत्रकार आचारसंहिताले घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने विषयलाई पनि जोड दिंदै भनेको छ कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका व्यक्तिको नाम जोडी उसको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी समाचार सामग्री प्रस्तुत गर्नुहुँदैन । तर आज अप्रिल फूल भन्दै लेखिएका समाचारले पत्रकारिताको मर्यादाको खूला उल्लङ्घन गरेको छ ।
आचारसंहिता अनुसार पत्रकारले जुनसुकै कुरा लेखिएको भए पनि कुनै पत्रकार तथा सञ्चारमाध्यमले सार्वजनिक हित र सरोकारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले नकारात्मक असर पार्ने गरी समाचार प्रकाशन प्रसारण वा उत्पादन वितरण गरेमा प्रेस काउन्सिल आफैँले त्यस्तो पत्रकार वा सञ्चारमाध्यमका विरुद्ध यस संहिता बमोजिम कारबाही अगाडि बढाउन सक्ने उल्लेख छ । यसको मतलव आज अप्रिल फुल भन्दै पत्रकारितामै अमर्यादित अभ्यास गर्ने, अनलाइनमा समाचार सामग्री राख्दा विभत्स, अतिरंजित, असान्दर्भिक सामग्रीहरु पोष्ट भईरहंदा प्रेस काउन्सिलले आफैले आचारसंहिता उल्लङ्घन गर्नेहरुलाई के गर्ला हेर्न बाँकी छ ।



