धनुषामा नग्न अवस्थामा भेटियो हराइरहेकी बालिकाको शव, दुई जना नियन्त्रणमा

Posted on: 15 Dec, 2023

मङ्सिर २९, जनकपुरधाम | धनुषामा बुधबार साँझदेखि हराइरहेकी एक बालिकको शव पोखरीमा नग्न अवस्थामा फे फेला परेको छ। 

धनुषाको सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या भएको देखिएको एक प्रहरीले बताए।

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए-नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। 

सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २÷३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो । त्यसैक्रममा अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

स्थानीयसँगै प्रहरीले खोजतलासको क्रममा बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी डिएसपी रञ्जन अवाले जानकारी दिए ।

बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!