जनकपुरका दुई युवकको अपहरण गरी भारतमा हत्या !

Posted on: 22 Jan, 2023

माघ ८, जनकपुर | जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय धनुषाको सूचनाको आधारमा मृतकका परिवारका सदस्यहरु आइतबार बिहान घटनास्थल पुगेका थिए । रायका अनुसार शव जनकपुरका २२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको परिवारका सदस्यले पहिचान गरेका छन् । पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।

रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए । पछिल्लो बुधबार (पुस २७ गते) दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताए ।

आफन्तको घरबाट अपहरणमा परेर सम्पर्कविहिन भएका बेला भारतीय मोबाइल नम्बरबाट फिरौंतीको लागि फोन आएको थियो । तर फिरौंती लिनुअघि नै उनीहरुको हत्या भएको छ । अपहरणकारीले उनीहरुको परिवारजनसँग सुरुमा ५० लाख मागेको थियो भने पछि फिरौंती रकम २० लाख मागेका थिए । अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।

विष्णुका पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो । आइतबार बिहान भेटिएको शव सनाखतका लागि भारतीय प्रहरीले मृतकका परिवारलाई खबर गरेको थियो । मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ ।

घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!