वैशाख ३०, काठमाडौँ । सोमबारदेखि नेपाल लोडसेडिङ मुक्त हुने भएको छ । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो । तर आइतबारदेखि नै उद्योगमा पनि लोडसेडिङ भएको छैन । सोमबार औपचारिक घोषणा गरेर लोडसेडीङ नगर्ने तयारी छ ।

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएपछी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ सोमबारदेखि औपचारिक रुपमा अन्त्य गर्ने बताएका हुन् ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङ बताउँछन् । प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।