असोज ९, काठमाण्डौ | दसैँका लागि सर्वसाधारणले असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन्।

प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् । ५, १०, २०, ५०, र १ सयका नयाँ नोट सटही हुनेछन् ।

बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने निरौलाले बताएका छन् ।

उनका अनुसार सरकारी स्वामित्व भएका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुनेछ। ‘ति तीन बैंकका तोकिएका शाखाबाट सर्वसाधारणले नोट लिन सक्नेछन्, शाखाहरु भौगोलिक स्थिति हेरेर पछि सार्वजनिक गरिनेछ’ उनले भने।

साथै थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट पनि बैंकिङ समयमा नोट सटही गरिने उनले जानकारी दिए।

गत वर्ष पनि तिनै बैंकका शाखाहरुमार्फत राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थियो। थापाथलीमा सर्वसाधारणको बढी भीड हुने गरेको छ। ‘नजिकका तोकिएका बैंक शाखाबाट सर्वसाधारणले सहज रुपमा नोट साट्न पाउनुहुन्छ, थापाथलीमै आउनुपर्ने बाध्यता छैन’ उनले भने।

यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ। गत वर्ष १२ अर्बको सटही भएको थियो। गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पुर्याइएको हो।

हाल चलनचल्तीमा रहेका नोटमध्ये संख्यात्मक हिसावमा ५ का नोट सबैभन्दा धेरै छन्। ५ का नोट ४८ करोडको संख्यामा चलनचल्तीमा रहेको निरौलाले जानकारी दिए।

सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट पाउने, कुन कुन बैंकमार्फत साट्न सकिन्छ ? हेर्नुहोस्
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment