कार्त्तिक १४, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै सामाजिक सुरक्षा कोषले एक महिनाभित्र सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सूचीकृत हुन आग्रह गरेको हो ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्रकाशित गरेको छ । 'यो सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सम्पूर्ण रोजगारदाता र योगदानकर्तालाई अनिवार्य रूपमा कोषमा आवद्ध हुन जानकारी गराइन्छ,' सूचनामा भनिएको छ, 'अन्यथा कानूनबमोजिम कारवाही हुनेछ ।'

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयसीमा तोकेको थियो । हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आएपछि २ जनाको परिवारले लिएको कोषको सुविधा लिएका छन् । क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा. लि. मा कार्यरत योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र अर्का योगदानकर्ता कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङका परिवारले कोषबाट सुविधा लिन थालेका हुन् । मोक्त्तानको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

निजका आश्रित परिबारलाई सामाजिक सुरक्षा योजना अन्तर्गत अन्तिम दाहसंस्कार खर्च बापत २५ हजारका दरले र मासिक निवृतिभरण वापत क्रमश १७ हजार १ सय र १० हजार २ सय (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) पाउने प्रक्रियामा रहेको कोषले जनाएको छ ।

मंसिर १३ सम्म सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको आग्रह
Leave a Comment