जनमत पार्टीले इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ । जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् । 

प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् । जनमतले आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारेपछि प्रेमदीपले आफ्ना प्रतिबद्धतासमेत सार्वजनिक गरिसकेका छन् । साथै उनी प्रचार-प्रसारमा समेत लागिसकेका छन् ।


प्रेमदीपले प्रदेशको नाम 'किरात लिम्बुवान' राख्न संसद्‍मा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुलाचुलीमा इलाका प्रशासन र मालपोत कार्यालयको स्थापना गर्ने उनको प्रतिबद्धता छ ।

प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ (१) मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो। एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो।

त्यस्तै बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो। एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउने कसरत थालेको हो। 


 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!