म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत

Posted on: 25 Sep, 2023

असोज ८, म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् ।

अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिए । 

“स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो”, उनले भने “२० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी हुनुभयो ।”

अदिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ । 

“वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ”, वडाध्यक्ष बुढाले भने “सडक सञ्चालन भएपछि स्थानीयवासीसँगै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!