पुस २२, काठमाडौँ | हुण्डी र ठगीका नाइके भनेर चिनिएका सफलराज कुँवर पक्राउ परेका छन्। सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका कुँवरलाई पक्राउ गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार कुँवर शनिबार राति विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई प्रहरीले अध्यागमनको डेस्क नजिकैबाट पक्राउ गरेको हो।

सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी काठमाडौं आएका थिए। शनिबार राति ९:४५ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन्।

पक्राउ परेका कुँवरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। त्यसपछि मात्रै कँवरलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।

उनले मकाउ लैजाने भनेर सयौं युवाहरुबाट करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका छ। ठगीसँगै उनी हुण्डी कारोबारी समेत भएको सीआईबीले जनाएको छ।

५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहे पनि कुँवर नेपाल नै नरहेकाले पक्राउ पर्नबाट बच्दै आएका थिए।

कुवँरसहितको समूहले मकाउमा बसेर हुण्डीको कारोबार गर्ने गरेको अनुसन्धानबाट देखिएको थियो। कुवँरसँगै मकाउमा खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी मिलेर हुण्डीको कारोबारमार्फत पैसा विदेश लैजाने गरेको अनुसन्धानले देखाएको थियो। यो गिरोहका केही व्यक्ति यसअघि नै पक्राउ पर्दा हुण्डीलगायत विदेश पठाउने भनेर विभिन्न व्यक्तिबाट उठाएको रकमको विवरण भएको कापी (डायरी) समेत बरामद भएको थियो।

हुण्डी र ठगीका ‘नाइके’ सफलराज कुँवर सिंगापुरबाट आउँदा आउँदै पक्राउ
Leave a Comment