पुस २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ । जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जानेबारे तयारी भएको हो ।

प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतको भनाइ छ । सबै टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उनको भनाइ छ ।

शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । यसअघि १८ औँ सम्मेलन अजरवैजानमा भएको थियो भने त्यसअघि सन् २०१६ मा भेनेजुएलामा सम्मेलन सम्पन्न गरिएको थियो ।