फागुन १७, काठमाडौं | महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले बताए।

रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्याएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी तथा संघ-संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन्।

नेपाल फर्किएपछि उनले मियाँविरूद्ध जाहेरी दिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी रानाले बताए। अन्य व्यक्तिहरूको खोजी भइरहेको रानाले बताए।

रानाका अनुसार ती महिलाको घरको आर्थिक अवस्था कमजोर थियो।

मियाँले मासिक नेपाली २० देखि २२ हजारसम्म तलब पाइने भन्दै फकाए। कुवेतमा घरेलु कामदारको रूपमा लगाइदिने प्रलोभन पारेर २०७३ साल जेठ १५ गते सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्याए।

भारतमा भएका एजेन्टले १० दिनको भिजिट भिसामा ती महिलालाई कोलम्बो पठाएका थिए।

‘त्यसरी पठाउँदा प्रतिवादीहरूले श्रीलंकाको कोलम्बोमा बुद्धको दर्शन गर्न जान लागेको भन्नु भनी सिकाएर पठाएको अनुसन्धानमा खुलेको छ,’ रानाले भने।

कोलम्बो पुगेपछि श्रीलंकन मुलका एक एजेन्टले ती महिलालाई जिम्मा लिए। उनले ठूलो संख्यामा महिलाहरूलाई ६८ दिनसम्म राहदानीलगायतका कागजात जफत गरी बन्धक बनाएर राखे।

कोलम्बोबाट २०७३ सालमै उद्धार गरिएकी ती महिलाले जाहेरी दिए पनि मियाँ फरार थिए।

पक्राउ परेका मियाँलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्याएर बन्धक, सात वर्षपछि पक्राउ परे अभियुक्त
Leave a Comment