पढ्न करिब 3 मिनेट लाग्छ

भदौ २४, काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ ।

एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले आज सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो ।

वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारियो । सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रिन्चे टिरिङलाई बिदाइसहित सम्मान गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले राससलाई जानकारी दिनुभयो । उहाँ यही हप्ता बंगलादेश जानुहुनेछ ।

सफाइका क्रममा सिनामंगलदेखि जागृतिनगरसम्म जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८७ औँ हप्तामा आज गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाका १०० जनाभन्दा बढीको सहभागिता थियो ।

रुद्रमती सफाइको १८५ औँ हप्तामा आज रातोपुलदेखि गौशालासम्म जचेतनामूलक अभियानसहित सफाइ गरियो । गौशालाबाट निस्किइ सडकमा बगिरहेको ढल सो अवसरमा व्यवस्थापन गरिएको थियो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको पनि उपस्थिति थियो ।

विष्णुमती सफाइको १५७ औँ हप्तामा धादिङ बसपार्क क्षेत्रमा जनचेतनासहित सफाइ गरियो । ३०० जनाको सहभागितामा भएको सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको २२ औँ हप्तामा बसुन्धरा–गोंगबु नयाँ बसपार्क क्षेत्रका रुखमा पाँच फिटसम्म रङ लगाएर सफाइ गरियो । ३०० जनाको सक्रियतामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

यसैगरी चक्रपथको सीतापाइला बाफल क्षेत्रमा पनि आज तेस्रो हप्ताको सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २२ औँ हप्तामा मीनभवन क्षेत्रमा जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जना महिलाको सक्रियता थियो ।

मनोहरा नदी सफाइको दोस्रो हप्ता आज विशेष सफाइ कार्यक्रम गरियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले नदी संरक्षण विधेयक पारित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सफाइमा सांसद दीपकप्रसाद कुइँकेल, सचिव दिनेशकुमार थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत अभियन्ताको सहभागिता थियो ।

शालिनदीदेखि वाग्मती दोभानसम्म ५२ हप्तामा सफाइ गरिसक्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो । आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी इन्द्रमती सफाइ अभियानको दोस्रो हप्ता आज नदीको बल्खु क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० अभियानकर्मीको सहभागिता थियो ।

गत हप्तादेखि राति सफाइ गरिँदै आएको पशुपति क्षेत्रमा आइतबारदेखि दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई हालसम्म मुलुकका २६ शहरका नदी सफाइ पनि शुरु भएको छ । रासस