जेठ २१, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान सङ्घ (एड्वान), जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित, ‘जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानको उपाय’ विषयको अन्तक्र्रियामा मन्त्री थापाले भन्नुभयो, “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नेबारे सरकारले देशव्यापी अभियान नै चलाउँदै छ, जातीय आधारमा छुवाछूत वा विभेद भएको बारे मलाई जानकारी दिनुहोस्, म सरकारको तर्फबाट हदैसम्मको कारवाही गर्नेछु ।”

आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा शदियौँदेखि पछाडि पारिएको दलित समुदायको समस्या समाधान गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने वर्तमान सरकारको योजना रहेको जानकारी उहाँले दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तिलक परियारले अहिले पनि अन्तरजातीय विवाह गरेको वा पानी छोएको निहुँमा दलित युवाको हत्या गरिएको र दलित समुदाय गाउँबाटै विस्थापित हुनुपरेकामा गुनासो गर्नुभयो । नेकपाका अर्का नेता जीतु गौतमले जनसंख्याका आधारमा राज्यका हरेक संरचनामा दलित समुदायको सहभागिता हुनुपर्ने माग गर्नुभयो । एड्वानका अध्यक्ष पम्फा परियारले समग्रमा दलित समुदायभित्र पनि दलित महिला सबैभन्दा बढी उत्पीडनमा परेकाले उनीहरुलाई राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।(रासस)

छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छः गृहमन्त्री
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment