वैशाख १४, काठमाडौँ | नेपाल एयरलाइन्सले काठमाडौं देखि जापान सिधा उडान अनुमति पाएको छ । नेपाल एयरलाइन्सलाई जापानको नागरिक उड्डयन संस्थाले उडान अनुमति (एओसी) दिएसँगै एयरलाइन्सले उडानका तयारी शुरु गरेको हो ।
एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका हप्तामा तीन पटक सिधा उडान गर्नेछ । असार १९ देखि उडान शुरु हुने एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सले पेस गरेको भाडादर पनि स्वीकृत भइसकेको छ । एयरलाइन्सले लामो गन्तव्यमा उडाउने भन्दै ल्याएको वाइडबडीले गन्तव्य नापाउँदा छोटो दुरीकै गन्तव्यमा आधा क्षमतामा उडिरहेका छन् ।
जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजना अनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरेको र साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न नसकेको अवस्था छ । नेपालबाट जापानसँग प्रत्यक्ष हवाइ सेवा नहुँदा जापान जाने नेपाली तथा जापानबाट नेपाल आउनेहरुले महँगो शुल्कमा टिकट काट्नुपर्ने समस्या थियो । अब नेपाल यएरलाइन्सकै जहाजमा सिधै नेपाल आउने तथा जापान जान सकिने हुँदा भाडादर पनि सस्तो हुने भएको छ ।

सिधा हवाइ सम्पर्क हुने भएपछी जापानी पर्यटक समेत बढ्ने अपेक्षा गरिएको छ । नेपाल जापान बीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् ।
सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ । नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् ।
नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। सम्झौता भएपनि कतिपय देशहरूले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन् ।