भदौ १, काठमाडौँ | आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने स्पष्टिकरण दिएको छ । चीनले कुनै पनि तेस्रो पक्षले जहाज रोक्न नहुने बताएको छ । यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

चीनले युआन वाङ–५ नामक जहाजमार्फत् भारतको आणविक, क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूको जासुसी गर्ने हो कि भन्ने भारतलाई डर छ । समाचार एजेन्सी पीटीआईले चीनको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै उक्त जहाज स्याटेलाइट र ब्यालिस्टिक मिसाइल जस्ता उन्नत प्रविधिले सुसज्जित भएको जानकारी दिएको छ । यसमा दुई हजार चालक दलका सदस्य बोक्न सकिनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतको चिन्ताबारे सोधिएको प्रश्नको जवाफमा उक्त जहाज ‘अन्तर्राष्ट्रिय कानुन अनुसार’ अनुसन्धानका लागि हम्बनटोटा पुगेको बताए । ‘म युआन वाङ–५ को सामुद्रिक वैज्ञानिक अनुसन्धान गतिविधिहरू अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सामान्य प्रक्रिया अनुरूप नै छन् भनी दोहोर्याउन चाहन्छु,’ उनले भने ।

‘यो जहाजले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर गर्दैन । यसलाई कुनै तेस्रो पक्षले रोक्ने प्रयास गर्नु हुँदैन,’ वेनबिनले भने ।

हम्बनटोटा बन्दरगाह बेइजिङले सन् २०१७ मा श्रीलंकाबाट ९९ वर्षका लागि भाडामा लिएको थियो । श्रीलंकाले व्यापक परामर्शपछि चिनियाँ जहाजलाई हम्बनटोटा आउन अनुमति दिएको बताएको हो ।

चीनले यो बन्दरगाहलाई सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतलाई डर छ । १.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ ।

श्रीलंकाको हम्बनटोटामा जहाज पुगेपछि भारतको चिन्तामा चीनले दियो यस्तो जवाफ
Leave a Comment