गुराँस संरक्षण गर्न महोत्सवको तयारी

Posted on: 08 May, 2019

बैशाख २५, दैलेख ।  दैलेख–सुर्खेत सिमा नजिक रहेको गुँरासेमा महोत्सव हुने भएको छ । गाउँपालिकाको सहयोगमा सेती बराह मिडिया प्रोमोसन प्रा.लि आयोजक रहने गरि गुराँस महोत्सव गर्न लागिएको हो । वैशाखको २७ देखि २९ गतेसम्म सञ्चालन हुने गरी महोत्सव गर्न लागिएको हो ।

गुरासँको संरक्षण तथा प्रर्वधन गर्नका लागि महोत्सव थालिएको महोत्सवका संयोजक खगेन्द्र सुनारले बताए । गुरासँ संरक्षणका लागि विद्यालय स्तरदेखी महोत्सवमा टक सो कार्यक्रम समेत गरिने उनको भनाई छ । दैलेखको गुरासेँमा ५ किसिमका गुरासँ फुल्ने गर्दछ । तर, पछिल्लो वर्षहरुमा आन्तरिक पर्यटकहरुले जथाभावी टिप्ने गरेकाले गुरासँ लोप हुने अवस्थामा पुगेको बेला गुरासँ संरक्षणका लागि भएको महोत्सवले महत्व झल्काउने जनाईएको छ ।

महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले गुरासँको महत्वबारे आफ्नो प्रस्तुतीमा गाउने छन् । त्यस्तै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने छ । गुरासँको महत्वबारे दोहोरी गीत प्रतियोगिता समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय उत्पादनहरु विक्रि तथा अवलोकलनका लागि राखिने छ भने गुरासँको जुस प्रर्दशनीमा राखिने छ ।

तिनदिनसम्म ३० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको दावी छ । गुरासँ हेर्दै पर्यटकहरुले महोत्सव अवलोकन गर्ने छन् । पर्यटन प्रर्वधन तथा प्रचारप्रसार र गुरासँ संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । पर्यटन प्रर्वधनमा आफु देशभरी अभियान थालेको छ त्यही अनुसार गुरासँ संरक्षणका लागि महोत्सव गरिएको संयोजक सुनारले बताए ।

मुख्य प्रर्वधक तथा सहयोगीमा गुरासँ गाउँपालिका रहेको छ । सहप्रर्वधकमा डिभिजन वन कार्यालय दैलेख, वन उद्योग वातावरण तथा पर्यटक मन्त्रालय कर्णाली प्रदेश, नेपाल पर्यटन बोर्ड काठमाडौं, घरेलु तथा साना उद्योग विकास समिति दैलेख, जिल्ला लद्यु उद्यमी समुह संघ (डिमेगा), दिगो कृषि तथा जलश्रोत बातावरण संरक्षण केन्द्र (सेवक) रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!