कालिकोट: स्थानीय तहका कामप्रति नागरिकको असन्तुष्टि

Posted on: 26 Mar, 2018

चैत १२, कालिकोट | जिल्लाका ९ वटै स्थानीय तहबाट भएका कार्यसम्पादनका कामहरुमा असन्तुष्टी बढ्दै गएको छ । झण्डै २० बर्ष पछि नागरिकहरुले आफैले चुनेका जनप्रतिनिधिबाट घर आँगनमा यातायात सेवा, खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा लगायतका धेरै अपेक्षाहरु राखेका थिए । तर त्यसो नभएले स्थानीय तहले सुरुवातकै बर्ष आफु अनुकूल नीतिगत निर्णयहरु, सडक नपुगेका स्थानीय तहमा समेत मोटरसाईकल तथा लाखौको रकम विभिन्न ठाँउको भ्रमण लगायतका कामले नागरिकहरु निकै असन्तुष्ट बनेका छन् ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका निवासी पत्रकार पवित्रकुमार शाहीले २० बर्षदेखीका भोका जनप्रतिनिधिहरुले स्थानीय तहलाई कम्पनीको रुपमा लिएको बताए । उनले आफु अनुकूल निर्णय तथा कसरी कमाउने भन्ने मान्यतामा स्थानीय तहका गतिविधिहरु भईरहेको बताउँदै यसले राम्रो परिणाम नआउने बताए । ‘जनताले मतदान गर्दा जे सोचेका थिए, त्यसको ठिक विपरित भएको छ’ उनले भने, ‘गाउँमा सिंहदरबार आयो भनेर भनेपनि गाँउमा शासक आएको महसुस गरिएको छ ।’

जिल्लाका कतिपय स्थानीय तहमा विज्ञापन नै नगरी नियम मिच्दै कर्मचारी नियुक्ति, स्वकीय सचिव, विभिन्न सल्लाहकार नाममा कर्मचारी राख्नु, आफु अनुुकुल कोठे उपभोक्ता समितिहरु गठन लगायतका बिषयमा बिबाद बढ््दै गएको छ । धेरैजसो स्थानीय तहका जनप्रतिनिधिहरुले १ सय ५० सिसी र २ सय २० सिसीसम्मका मोटरसाईकल गाँउपालिकाकै बजेटबाट खरिद गरेका छन् ।

जिल्लाको कालिका गाउपालिकाले २० लाख बजेट खर्च गर्ने गरी भ्रमणमा गएको बिषयलाई जिल्लामा सबै भन्दा बढी आलोचनाको बिषय बनेको छ । तिला कर्णाली बहुुमुखी क्याम्पसका स्ववियु सभापती भिमप्रसाद आचार्यले गाँउपालिकाले नागरिकहरुले तिरेको करबाट बनेको बजेट भ्रमणमा खर्च गरिनु जनमतको अपमान भएको बताए । उनले गाँउपालिकाको २० लाख बजेट खर्च गरेर जनप्रतिनिधिहरु पोखरा, मनकामना लगायतका ठाँउहरुमा महिनौसम्म भ्रमणमा गएर नागरिकहरुलाई प्रदान गर्ने दैनिक सेवाहरु समेत प्रभावित बनाएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!