एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on: 20 Mar, 2019

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । 

मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको छ । 

मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका आयोजनामा यस आवमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको हो । 

पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल (खण्डस्मित) भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किलोमिटरमा ग्राभेल सम्पन्न भएको छ । यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । मन्त्री महासेठले भन्नुभयो, “कालीगण्डकी करिडोर, कोशी सडक, हिल्सा सिमीकोटलगायतका ठाउँमा ट्र्याक खोल्ने काम भएको छ ।” 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुङ्गा सडक आगामी एक महीनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महीनामा सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ । 

विगतका वर्षहरुमा भन्दा यो वर्ष झण्डै दोब्बर सडक, पुलको निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । एक वर्षमा ४०/५० पुलको मात्रै निर्माण हुने गरेकामा यो वर्ष ९४ पुलको निर्माण सम्पन्न भएको हो । आगामी वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ । उहाँले भन्नुभयो, “तीन सय पुल सक्ने लक्ष्य लिइनेछ, कम्तीमा २०० सम्पन्न हुनेछ ।” 

यो एक वर्षमा यातायातका क्षेत्रमा उल्लेखनीय काम भएको मन्त्री महासेठले औँल्याउनुभयो । ‘सिण्डिकेट’को अन्त्य भएकाले यात्रुलाई सहज भएको उहाँले बताउनुभयो । सवारीसाधनमा यात्रु झुण्डिएर यात्रा गर्नुलाई कतिपयले ‘सिण्डिकेट’ अन्त्य नभएको भन्ने गरेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाका रूपमा दर्ता हुँदै आएकामा अहिले कम्पनीमा दर्ता भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारीमा व्यवसायीको एकाधिकार तोडिनु नै उपलब्धि हो ।” 

छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नौ सय ४५ किलोमिटर लम्बाइको मेची– महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार छिमेकी देशसँग जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “केरुङ–काठमाडौँ रेलमार्गको चीन र वीरगञ्ज–काठमाडौँ रेलमार्ग भारत सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ ।” 

जल यातायाततर्फ नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । 

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ सडकमा सुधारको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा धुलो कम गर्ने काम भइरहेको छ । सडक बत्ती व्यवस्थापन र सडक चिह्नलगायतका काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक ठाउँमा जेब्राक्रसिङ बनाउनेलगायतका काम भइरहेको छ ।” मन्त्रालयको हालसम्मको समष्टिगत प्रगति १७ दशमलव १० प्रतिशत रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!